मकवानपुरको बागमती गाउँपालिकामा आँखा परीक्षण गर्नुहुँदै चिकित्सक ।

हेटौँडाः हेटौँडाको लायन्स क्लबहरुको संयुक्त आयोजनामा २ स्थानमा निःशुल्क आँखा शिविर भएको छ । आइतबार हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा मकवानपुर र बारा जिल्लामा आँखा शिविर हुँदा ९० जनाको आँखामा मोतिविन्दु पहिचान भएको हेटौँडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।

मकवानपुरको बागमती गाउँपालिकाको राईगाउँमा भएको निःशुल्क आँखा शिविरमा एक सय २४ जनाले आँखा जाँच गराएका थिए । जाँच गराएका मध्ये २० जनामा मोतिविन्दु देखिएको श्रेष्ठले बताउनुभयो । क्लबले राईगाउँमा एक सय ५० जनाको आँखा जाँच र २० जनामा मोतिविन्दु पहिचान हुने लक्ष्य राखेको थियो ।

आइतबारै बारा जिल्लाको ईनर्वामा आँखा शिविरमा ३ सय २८ जनाले आँखा जाँच गराएका छन् । आँखा जाँच गराएका मध्ये ७० जनाको आँखामा मोतिविन्दु पहिचान भएको श्रेष्ठले बताउनुभयो । बारा जिल्लाको ईनर्वामा २ सय २० जनाको आँखा जाँच गर्ने लक्ष्य लिएको थियो भने बढीमा ४५ जना मोतिविन्दुका विरामी भेटिने अनुमान गरेको थियो ।

लायन्स क्लबले ७ स्थानमा निःशुल्क आँखा शिविर आयोजना गर्दैछ । माघ २० गतेदेखि माघ २३ गतेसम्म विभिन्न स्थानमा निःशुल्क शिविर भइरहेको छ । शिविरको पहिलो दिन शनिबार मकवानपुरगढी गाउँपालिकामा आँखा शिविर भएको थियो । आँखा शिविरमा २५ जनामा मोतिविन्दु देखिएको हो । शिविरमा सहभागी भएका एक सय ६१ जनामध्ये २५ जनामा मोतिविन्दु पहिचान भएको थियो ।

सोमबार सर्लाही जिल्लाको रामनगर र मकवानपुरको बुढीचौरमा शिविर हुँदैछ । मोतिविन्दु देखिएका व्यक्तिलाई हेटौँडा सामुदायिक आँखा अस्पतालमा शल्यक्रिया गरी चस्मासमेत वितरण गरिने भएको छ ।