हेटौँडाः बालमैत्री नगर निर्माणमा सरोकारवालाको भूमिका विषयक वक्तृत्वकलामा हेटौँडा–६ की शितिष्मा उप्रेती प्रथम हुनुभएको छ । रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सवको सन्दर्भमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आइतबार वक्तृत्वकला भएको हो ।

प्रतियोगितामा हेटौँडा–१९ की सपना बर्तौला द्वितीय, हेटौँडा ११ की सायना सापकोटा तृतीय र हेटौँडा ७ की प्रमिला थिङ सान्त्वना भएकी छिन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएकाहरुले क्रमशः नगद १० हजार, ६ हजार, ४ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । हेटौँडा उपमहानगरको प्रत्येक वडाबाट एक/एक जना सहभागी हुन पाउने गरी प्रतियोगिता आयोजना गरिएको थियो ।

हेटौँडा उपमहानगरपालिकाको सहयोगमा वक्तृत्वकला प्रतियोगिता भएको हो । रेडियो मकवानपुर सन्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा कार्यक्रम भएको हो । हेटौँडा उपमहानगरपालिकाको महिला तथा बालबालिका महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछानेले बालमैत्रीको विषयलाई सबै सरोकारवालाले उत्तिकै महत्व र साथ दिनुपर्ने धारणा राख्नुभयो ।