कार्यक्रममा सहभागी विद्यार्थीहरु ।

हेटौँडाः हेटौँडा–१७, हटियास्थित बालबोध माध्यमिक विद्यालयको वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमको आयोजना गरिँदै छ । शुक्रबार एक समारोहका बीच वार्षिकोत्सवको उद्घाटन कार्यक्रम भएको छ । हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा कार्यक्रमको ७३ औं वार्षिकोत्सव समारोह भएको हो ।

कार्यक्रममा वडाध्यक्ष उद्धव सत्याल, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष बसन्त रोक्काको पनि उपस्थिति रहेको विद्यालयका प्रधानाध्यापक दीपकलाल श्रेष्ठले जानकारी दिनुभयो । वार्षिकोत्सवको उद्घाटनको अवसरमा विद्यालयमा अक्षयकोषको स्थापना गरिएको छ । अक्षयकोषका लागि पूर्वअध्यक्ष रोक्काले ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमको आयोजना गरिँदै छ । माघ २३ गते विद्यालयमा अभिभावक भेला र पुरस्कार वितरण गरी वार्षिकोत्सव समारोहको समापन गरिने प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनुभएको छ ।