हेटौंडाः बागमती प्रदेशसभा स्थापनाको छैटौँ वर्ष पूरा गरेको अवसरमा प्रदेशसभा सदस्य र प्रदेशसभा सचिवालयका कर्मचारी सम्मानित भएका छन् । बिहीबार प्रदेशसभा सचिवालय हेटौंडाले छैटौं वार्षिकोत्सव समारोहमा सम्मानित गरेको हो ।
सम्मानित हुनेमा प्रदेशसभा सदस्यहरु गीता गुरुङ, मधुसुदन पौडेल, माया श्रेष्ठ, रामप्रसाद ढुङ्गाना र लक्ष्मी श्रेष्ठ रहनुभएको छ । सम्मानित हुने प्रदेशसभाका कर्मचारीहरुमा कानुन अधिकृत मनोज गुप्ता र कम्प्युटर अधिकृत रोशन प्रधान रहेका छन् । गुप्ता र प्रधानलाई नगद २० हजार रुपैयाँसहित सम्मान गरिएको हो । यस्तै, कम्प्युटर अप्रेटर सरिता घिमिरेलाई १९ सजार ५ सय रुपैयाँ, हलुका सवारी चालक सन्तोष राईलाई १९ हजार रुपैयाँ र कार्यालय सहयोगी मीना ओझालाई १९ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
संघीयता कार्यान्वयनपश्चात् २०७४ माघ १८ गते प्रदेशसभाको पहिलो बैठक बसेको दिनलाई सचिवालयले वार्षिक उत्सवको रुपमा मनाउँदै आएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्य तथा सभामुख भुवनकुमार पाठकको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा प्रदेश सरकारका विभागीय मन्त्री, सांसद, मन्त्रालयका सचिव, सचिवालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।











