हेटौँडास्थित बागमती प्रदेश कृषि विकास निर्देशनालयको कार्यालयमा तालाबन्दी गरेर धर्ना दिँदै किसान ।

हेटौंडाः दुग्ध उत्पादक सहकारी संघले दुधको अनुदान कटौती गरेको भन्दै कृषि विकास निर्देशनालयमा तालाबन्दी गरिएको छ । मंगलबार बागमती प्रदेश कृषि विकास निर्देशनालयमा प्रदेशका दुग्ध उत्पादक सहकारी संस्थाहरुले आन्दोलन गर्दै कार्यालयमा कालो व्यानर राखी तालाबन्दी गरिएको छ ।

प्रदेश सरकारले कृषि र पशुपालन व्यवसाय गरिरहेका कृषकहरुलाई बिगतका वर्षहरुमा दिँदै आएको उत्पादनको आधारित अनुदान बन्द गर्ने उद्देश्य राखी कम रकम बिनियोजन गरिएको र सो पनि सहकारीले प्राप्त गर्न नसक्ने गरी सूचना प्रकाशन भएको भन्दै दुग्ध उत्पादक सहकारी संघ आन्दोलनमा उत्रिएको हो । सहकारी संघले पटक–पटक मान्त्रालयलाई ध्यानाकर्षण गराउँदा समेत प्रदेश सरकार किसानहरुप्रति गम्भीर नभएको पाइएको भन्दै संघ आन्दोलनमा उत्रिएको छ । किसानले विक्री गरेको दुधको भुक्तानी समयमा गराउन संघले आग्रह गर्दा पनि प्रदेश सरकार उदासिन रहेको संघको भनाई छ । दुग्ध विकास आयोजनाले नै ६ महिनादेखि भुक्तानी नदिनु निजी डेरीहरुलाई कानुनी कठघरामा नल्याउनुजस्ता गतिबिधिका कारण बिरोध, धर्ना कार्यक्रममा गर्न बाध्य भएको संघले दुखेसो गरेका छन् ।

आन्दोलनमा दुग्ध उत्पादनमा आधारित अनुदानका लागि प्रकाशित सूचना बदर गरियोस्, दुग्ध उत्पादक किसानहरुलाई दिँदै आएको अनुदान विगत भन्दा कम नहुनेगरी दिने व्यवस्था तुरुन्त मिलाईयोस्, दुग्ध उत्पादक किसानको भुक्तानी अबिलम्ब दिने व्यवस्था मिलाईयोस्, दुग्ध उत्पादनको बजारीकरणको ग्यारेन्टी गरियोस्, किसानको आवश्यक्ताको आधारमा अनुदान दिने व्यवस्था गरियोस् भन्दै प्रदर्शन गरिएको छ । आन्दोलनमा जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष हरिप्रसाद कँडेल, चितवनका अध्यक्ष किशोर बगाले, सिन्धुलीका अध्यक्ष नवराज गजुरेल, काभ्रेका अध्यक्ष नारायण बराल, धादिङका अध्यक्ष रामचन्द्र पण्डित, भक्तपुरका अध्यक्ष हरिप्रसाद नेपाल, ललितपुरका अध्यक्ष कृष्णप्रसाद सापकोटा, सिन्धुपाल्चोकका अध्यक्ष झमक तिमल्सिनालगायत किसानको उपस्थिति रहेको थियो ।