बागमतीः बागमती गाउँपालिकाको ११ औं गाउँसभा सम्पन्न भएको छ । सोमबार पालिकाका अध्यक्ष सर्केश घलानको सभाध्यक्षतामा गाउँसभा सम्पन्न भएको हो । गाउँसभाले विभिन्न ९ वटा निर्णय गरेको छ । गाउँसभामा प्रस्तुत गरिएको अर्धवार्षिक प्रगति विवरण अनुमोदन गरेको छ । यस्तै विनियोजन ऐन २०८० को संशोधन, आर्थिक ऐन, स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कनको नतिजा, विषयगत समितिहरुको प्रतिवेदन, आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका, २०८० को मस्यौदा, तथ्याङ्क तथा अभिलेख व्यवस्थापन ऐन, गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धमा बनेको विधेयक स्वीकृत भएको छ ।

पालिकाले नगर प्रहरीको संख्या थप गर्ने निर्णय गरेको छ । हाल ५ जना रहेकोमा थप ४ जना नगर प्रहरी थप गरी ९ जना पु¥याउन लागेको हो । कर संकलन, खुला चरिचरण नियन्त्रण, खोलामा करेन्ट लगाएर माछा मार्नेलाई नियन्त्रण, छाडा पशु व्यवस्थापन र बजार व्यवस्थापन गर्न नगर प्रहरी थप गर्न लागेको जनाएको छ ।

गाउँसभामा पालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले गाउँपालिकाको चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रस्तुत गर्नुभयो । उहाँले पालिकामा चालु आर्थिक वर्षका लागि ६८ करोड ३० लाख १० हजार रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म १८ करोड ४२ लाख २८ हजार रुपैयाँ खर्च भएको जानकारी गराउनुभयो । आर्थिक विकासतर्फ विनियोजित बजेटको ६.८ प्रतिशत, कृषितर्फ १३.११ प्रतिशत, सामाजिक विकासतर्फ २९.४५ प्रतिशत, शिक्षातर्फ ३७.५५ प्रतिशत र स्वास्थ्यतर्फ २४.९७ प्रतिशत खर्च भएको उहाँले बताउनुभयो ।

पालिकाले चालु आर्थिक वर्षमा राजस्व संकलनमा लिएको लक्ष्यअनुसार १९ प्रतिशतमात्र प्रगति भएको उहाँले बताउनुभयो । गाउँसभाले विभिन्न शीर्षक र कार्यक्रमको १ करोड ४० लाख रुपैयाँ बजेट संशोधन गरेको उहाँले बताउनुभयो ।

सभामा सुशासन तथा संस्थागत विकास समितिको तर्फबाट संयोजक यहुन्ना राईले समीक्षा प्रतिवेदन प्रस्तुत गनुभयो । उहाँले कार्यपालिकाको कार्यालय र सबै वडा कार्यालयहरुबाट नियमितरुपमा सेवा प्रवाह भइरहेको, कृषि, पशुपंक्षी विकास तथा स्वास्थ्य शाखाबाट घुम्ती सेवा, निःशुल्क र सशुल्क सेवा प्रदान गरेको बताउनुभयो । यस्तै, सार्वजनिक सुनुवाई तथा गुनासो व्यवस्थापन गर्ने गरेको र सार्वजनिक खरिद तथा सम्पत्ति व्यवस्थापनसम्बन्धी खरिद इकाई गठन भएको बताउनुभयो । उहाँले वडा कार्यालय र कार्यपालिकाको रिक्त दरबन्दी स्थायी पदपूर्ती नभएको पनि बताउनुभयो ।

सामाजिक विकास समितिका संयोजक कमानसिंह पाख्रिनले समितिको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै शिक्षक अभावलाई पूर्ति गर्न पालिकाले आफ्नै स्रोतबाट दुई जना ईसीडी, १४ जना प्राथमिक, ९ जना निम्न माध्यमिक र ६ जना माध्यमिक शिक्षकको दरबन्दी निर्धारण गरेर नियुक्त गरेको बताउनुभयो । पालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम घोषणा र बागमती–४ स्थित बुद्ध आधारभूत विद्यालयलाई पालिकाको नमुना विद्यालय बनाउने तयारी भएको बताउनुभयो ।

गाउँसभामा आर्थिक विकास समितिका संयोजक उत्तरबहादुर भोलनले प्रगति विवरण प्रस्तुत गर्नुभयो । उहाँले ५० प्रतिशत अनुदानमा पशु बिमा कार्यक्रमका लागि बिमा कम्पनीसँग सम्झौता गरेको, पुँजी कार्यविधि, पशु औषधी खरिद र दुग्ध चिस्यान केन्द्र स्थापना गरी सञ्चालन गरेको बताउनुभयो ।