हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक पहिलो पटक कार्यतालिकाअनुसार बस्न लागेको छ । माघ १६ गते मंगलबार दिनको २ बजेका लागि कार्यपालिका बैठक बोलाइएको छ । हेटौँडा उपमहानगरपालिकाले हरेक महिनाको २ र १६ गते कार्यपालिका बैठक बस्ने कार्यतालिका बनाएको छ ।
चालु आर्थिक वर्षमा कार्यतालिकाअनुसार बैठक बस्न सकेको थिएन । कार्यतालिकाअनुसार बैठक नबस्नु भनेको प्रणाली निर्माण गर्न नसक्नु हो भनी निरन्तर आलोचना भएपछि पहिलो पटक कार्यतालिकाअनुसार बैठक बस्न लागेको हो । मंगलबार बस्ने बैठकमा विभिन ८ वटा बुँदामा प्र्रस्ताव तय गरिएको छ । बैठकमा अघिल्लो बैठकको समीक्षा, तहवृद्धि, एमबीबीएस अध्ययन सहयोग, जग्गा उपलब्ध गराउने विषय प्रस्तावको रुपमा कार्यपालिका सदस्यहरुलाई जानकारी गराइएको छ । यस्तै नामसारी, शित भण्डारको स्थान, वन विज्ञान अध्ययन संस्थानसँग जग्गा लिजमा लिने र सामाजिक समावेशीकरण नीति तर्जुमाको सैद्धान्तिमक सहमतिसम्बन्धी बुँदा पनि मंगलबारको बैठकका प्रस्ताव छन् ।
उपमहानगरपालिकाले यसअघि कार्यपालिका बैठकका निर्णयहरु पनि सार्वजनिक गर्न सुरु गरेको छ । पुस ६ गते र २० गते बसेको कार्यपालिका बैठकको निर्णय उपमहानगरले सार्वजनिक गरेको छ । त्यसअघि कार्यपालिका बैठकका निर्णय समेत सार्वजनिक गर्ने गरिएको थिएन ।