हेटौँडाः हेटौँडा सेभेन्स रग्बी प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधि हेटौँडा उपमहानगरपालिका र पुुरुषतर्फको उपाधि हिमालयन टाइगर क्लबले जितेको छ । हेटौँडा–५, पिप्लेस्थित पिप्ले–क्याम्पा रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपाल महिला रग्बी क्लबलाई १२–१४ स्कोरले पराजित गर्दै महिलातर्फ हेटौँडा उपमहानगरपालिकाले उपाधि जितेको हो भने पुरुषतर्फ हेटौँडा उपमहानगरपालिकालाई १७–१२ स्कोरले हराउँदै हिमालयन टाइगरले उपाधि जितेको हो ।
हेटौँडाका लागि पुष्पा खड्काले १० र कन्भरजनले ४ स्कोर बनाएको हो । यता पुरुषतर्फ उपाधि विजेता हिमालयनका पुजन खेवालीले पहिलो र दोस्रो हाफमा ५–५ स्कोर बनाउन सफल भए । हेटौँडाका लागि रोशन बोम्जनले र अनिश तामाङले समान ५–५ स्कोर जोडे । प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । महिला तथा पुरुषतर्फको उपाधि विजेता क्लब समुह चरणको खेलहरुमा अपराजित रहँदै १२ अंक जोड्दै फाइनलमा प्रवेश गरेको थियो ।
हेटौँडा रगर्स रग्बी क्लबको आयोजनामा आइतबारबाट सुरु भएको प्रतियोगितामा महिलातर्फ ६ वटा र पुरुषतर्फ ४ टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगिता आयोजनाका लागि हेटौँडा उपमहानगरपालिकाले ५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । हेटौँडा रगर्स रग्बी क्लबका अध्यक्ष विक्रम भारतीको सभाध्यक्षमा तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा पुरस्कार वितरण भएको हो । पुरस्कार वितरण कार्यक्रममा नेपाल रग्बी संघका केन्द्रिय महासचिव गोविन्द घिमिरेको पनि उपस्थिति रहेको थियो ।