हेटौंडाः बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विष्णुकुमार केसीले पत्रकार भेटघाट गर्नुभएको छ । आइतबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा डीआईजी केसीले आफूले जिम्मेवारी लिएपश्चात् पत्रकारहरुसँग पहिलो पटक भेटघाट गर्नुभएको हो ।
बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जमा सरुवा हुनुभएसँगै डीआईजी केसी बागमती प्रदेशमा आउनुभएको हो । नेपाल सरकारको मन्त्रिपरिषद्को पुस २४ गते बसेको बैठकको निर्णयले नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण तथा विकास निर्देशनालयबाट सरूवा भई केसी बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा आउनुभएको हो ।
पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले प्रहरीले गर्नुपर्ने कार्यको बारेमा प्रमुख केसीलाई जानकारी गराउनुभएको थियो । भेटघाटका क्रममा मकवानपुरका वरिष्ठ पत्रकार प्रताप विष्टले प्रदेश प्रहरीले सूचना छिटो–छरितो पत्रकारलाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । मकवानपुरमा लागूऔषध गाँजा, अफिम खेती र ओसारपसार धेरै भई लागूऔषध संक्रमणकालको अवस्थामा पुगेको पत्रकार विष्टले बताउनुभयो । पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट विकृति फैलिएकाले नियन्त्रणमा प्रहरीले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा सञ्चारकर्मीहरुले मकवानपुरमा अवैध खोलानाला उत्खनन् भइरहेको अवस्थामा प्रहरीले वास्ता नगरेको बताएका थिए । हेटौंडामा भएका सिमेन्ट उद्योगमा चुनढुङ्गा बोक्ने टिपरले ओभरलोड बोक्ने तर प्रहरीले त्यसमा कुनै कारबाही नगरेको जानकारी गराएका थिए । ट्राफिक प्रहरीले कतिपय स्थानमा जनतालाई अनावश्यक दुःख दिने, नराम्रो व्यवहार गर्ने कार्य भइरहेको पत्रकारहरुले गुनासो गरेका छन् ।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख केसीले प्रहरीले चुहावट कम गरी १५ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको बताउनुभयो । उहाँले बजारमा ट्राफिक व्यवस्थापन, शान्तिसुरक्षा कायम गर्न तत्पर रहेको बताउँदै सुधारका पक्षमा काम गर्दै जाने बताउनुभएको छ ।