हेटौंडाः राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशको मतगणना सुरु भएको छ । बिहिबार दिउँसो ३ बजे मतदान सकेर सर्वदलीय बैठक बसेपछि मतगणना गर्न सुरु गरेको हो ।
निर्वाचनमा प्रदेशभरका ३ सय ४७ मतदातामध्ये ३ सय ४२ जनाले मतदान गरेका छन् । स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ३७ जनामध्ये २ सय ३४ जना र प्रदेश सभाका सदस्यहरु १ सय १० जनामध्ये १ सय ८ जनाले मतदान गरेको हो । निर्वाचनमा स्थानीय तहका तीन जना प्रदेश सभा सदस्य दुई जना अनुपस्थित भएका छन् । बिहीवार बिहान ९ बजेदेखी दिउँसो ३ बजेसम्म मतदान समय तोकिएकोमा ३ सय ४२ जनाले मतदान गरेका हुन् । स्थानीयतर्फ ९८.७३ प्रतिशत र प्रदेशतर्फ ९८.१८ प्रतिशत मत खसेको छ ।
राष्ट्रिय सभा सदस्यका लागि बागमतीबाट ४ सिटमा ६ दलका १५ जनाको उम्मेदवारी परेको छ । बेलुकासम्ममा मतगणना सकिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।