मतदाताहरुलाई कुर्दै ।

हेटौंडाः राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशको मतदान सकिएको छ । बागमती प्रदेशका निर्वाचन अधिकृत श्री प्रसाद सन्जेलका अनुसार बागमतीमा ३ सय ४७ मतदातामध्ये ३ सय ४२ जनाले मतदान गरेका छन् ।

स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ३७ जनामध्ये २ सय ३४ जना र प्रदेश सभाका सदस्यहरु १ सय १० जनामध्ये १ सय ८ जनाले मतदान गरेको हो । बिहीवार बिहान ९ बजेदेखी दिउँसो ३ बजेसम्म मतदान समय तोकिएकोमा ३ सय ४२ जनाले मतदान गरेका हुन् । स्थानीयतर्फ ९८.७३ प्रतिशत र प्रदेशतर्फ ९८.१८ प्रतिशत मत खसेको छ । निर्वाचनमा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह उर्फ बालेनसहित ५ जना मतदाता अनुपस्थित भएका छन् । यसअघि गएको प्रदेश सभा निर्वाचनमा पनि मत नहाल्नुभएका प्रमुख शाहले राष्ट्रिय सभा निर्वाचनमा पनि मतदान नगर्नुभएको हो ।

निर्वाचनमा बागमती प्रदेश सभामा नेतृत्व गर्ने हाम्रो नेपाली पार्टीका सांसदहरु अनुपस्थित भएका छन् । पार्टीका बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य र सांसद सरिता खड्की मतदान गर्न अनुपस्थित हुनुभएको हो । स्थानीय तहतर्फ मतदानमा अनुपस्थित हुनेहरुमा नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङ र काभ्रे चौरी देउराली गाउँपालिका उपाध्यक्ष सेर बहादुर लामा रहेका छन् । जसमध्ये किपसाङका प्रमुख तामाङ ठगी मुद्दामा फरार छन् भने चौरी देउरालीका उपप्रमुख लामा स्वास्थमा समस्या भएका कारण अनुपस्थित भएको बुझिएको छ । बागमतीमा ४ सिटका लागि ६ दलको १५ जनाको उम्मेदवारी परेको छ । मतगणना केहिबेरमा सर्वदलीय बैठक बसेपछि सुरु गर्ने निर्वाचन अधिकृत सन्जेलले बताउनुभयो ।