वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद प्रतियोगितामा पदक विजेता विद्यार्थीलाई पदक वितरण गरिँदै ।

फिर्केपाखा (मकवानपुरगढी)ः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४, फिर्केपाखास्थित ज्वालादेवी आधारभूत विद्यालयले ४६ औं स्थापना दिवस मनाएको छ । बुधबार एक कार्यक्रमका बीच विद्यालयले विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै शिक्षक, सहयोगीलाई सम्मान गरेर वार्षिकोत्सव मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजाराम मुक्तानको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यमा वार्षिकोत्सव समारोह भएको हो । वार्षिकोत्सवको अवसरमा विद्यालयले विद्यार्थी, शिक्षक, अभिभावकको सहभागितामा विविध क्रियाकलापको आयोजना गरेको थियो । वार्षिकोत्सव समारोहमा वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, वडा सदस्य संगीता परियारको पनि आतिथ्य रहेको थियो । वार्षिकोत्सवको अवसरमा विद्यार्थीले नृत्य कला समेत प्रस्तुत गरेका थिए ।

८ कक्षासम्म पठनपाठन हुने विद्यालयमा चालु शैक्षिकसत्रमा ८६ जना विद्यार्थी भर्ना भएका थिए । अर्धवार्षिक परीक्षामा भने ७३ जना विद्यार्थी सहभागी भएको विद्यालय प्रधानाध्यापक सरोज फयालले जानकारी दिनुभएको छ । विद्यालयको सुधार एवम् शैक्षिक वातावरण बनाउन आफूले सक्दो प्रयास गरिरहेको जानकारी गराउनुहुँदै प्रधानाध्यापक फयालले भन्नुभयो, “विद्यालयले गरेका सकारात्मक प्रयासबाट स्थानीय समुदायका मानिस प्रभावित भएका छन् । आगामी शैक्षिक सत्रमा ३० भन्दा बढी नयाँ विद्यार्थी थपिने छ ।”