राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान गर्नुहुँदै ह्वीलचेयरमा एक मतदाता ।

हेटौँडाः राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत मतदान कार्यक्रम सुरु भएको छ । बागमती प्रदेशतर्फ खाली रहेको ४ सिटका लागि हेटौँडा–४ स्थित भूटनदेवी माविमा मतदान केन्द्रमा बिहिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । मतदानको समय बिहिबार दिनको ३ बजेसम्म रहनेछ ।

हालसम्म प्रदेश सभाका सदस्य ६७ जना र स्थानीय तहका प्रमुख उपप्रमुख गरी १५१ जनाले मतदान गरेका छन् । निर्वाचनका लागि बागमती प्रदेशमा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनका लागि सत्ता गठबन्धन दलबाट ४ जना, नेकपा एमालेका ४ जना, नेपाल मजदुर किसान पार्टीबाट ४ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ जना गरी बागमती प्रदेशमा १५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचनमा मतदान गर्न लामवद्ध मतदाता ।

बागमती प्रदेशमा महिला समूहका लागि ४ राजनीतिक दलका, दलित समूहका लागि ३ राजनीतिक दलका, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि ४ राजनीतिक दलका र अन्य समूहका लागि ४ राजनीतिक दलका गरी जम्मा १५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । निर्वाचनमा ३ सय ४७ जनाले मतदान गर्नेछन् । प्रदेश सभा सदस्य १ सय १० जना र २ सय ३७ स्थानीय तहका सदस्यहरुले मतदान गर्नेछन् ।