बागमतीः पूर्वजनमुक्ति सेना नेपाल मकवानपुरको तेस्रो भेला सम्पन्न भएको छ । बटालियन कमाण्डर प्रकाश घर्ती मगरको सभाध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय महासचिव देव गुरुङको प्रमुख आतिथ्यमा भेला भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पार्टीका महासचिव गुरुङले युद्धस्थललाई ऐतिहासिक संग्रहालयको रूपमा विकास गर्न केन्द्रबाट सक्दो पहल गर्ने बताउनु भयो । जनयुद्धको क्रममा ज्यान गुमाएका सहिद परिवारप्रति शोक व्यक्त गर्नुहुँदै उहाँले मुलुकको समृद्धिका लागि कम्युनिस्ट धारका पार्टी र अन्य दलहरुबीच आपसी सहकार्य हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
सोमबार बागमती गाउँपालिकास्थित झुरझुरेमा रहेको सहिद स्मारकमा जनमुक्ति सेनाको भेट्घाट एवम् युद्धस्थलको अवलोकन गरेको छ । २०६२ साल माघ ८ गते झुरझुरेमा तत्कालिन शाही नेपाली सेना र माओवादी लडाकुबीच भिडन्त भएको थियो । उक्त भिडन्तमा २८ जनाले ज्यान गुमाएका थिए ।
कार्यक्रममा मकवानपुरका ४ सय जना भन्दा बढी पूर्वजनमुक्ति सेनाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तान, केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, पार्टीको बागमती प्रदेश उपाध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, पार्टी मकवानपुर जिल्ला संयोजक एवम् बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान लगायतको आतिथ्य रहेको थियो ।