हेटौंडाः नेपाल सरकारको स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगमा ४ महिनादेखि उत्पादन ठप्प रहेको छ । दैनिक सात सय ५० मेट्रिक टन उत्पादन हुनुपर्ने सिमेन्ट दशैंपछि उत्पादन शून्य नै रहेको छ । उद्योगले चालु आर्थिक वर्षमा २ लाख ४९ हजार ४५६ बोरा सिमेन्ट बिक्री गरेको छ । सिमेन्ट उद्योगले चालु आर्थिक वर्षको साउनमा ४८ हजार ९५५ बोरा, भदौमा ४५ हजार ५१० बोरा, असोजमा ५१ हजार ४८२ बोरा, कात्तिकमा २२ हजार ३८७ बोरा, मंसिरमा २५ हजार ३३७ बोरा र पुषमा ५५ हजार ७८५ बोरा सिमेन्ट बेचेको हो ।

लामो समयदेखि निरन्तर घाटामा रहेको उद्योगले सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभाव देखाउँदै उद्योगले उत्पादन कार्य ठप्प गरेको छ । कोइलाको अभाव देखाउँदै सिमेन्ट उद्योगले दशैंपछि पूर्णरुपमा उत्पादन ठप्प पारेको छ । उद्योगले एकपटक टेण्डर गर्दा १३ हजार टन कोइला ट्रकमा ढुवानी भई आपूर्ति हुने गरेको छ । कोइलाको माध्यमबाट सिमेन्ट उत्पादनका लागि चाहिने कच्चा पदार्थ क्लिङ्कर बनाउने गरिन्छ । क्लिङ्कर अभावका कारण सिमेन्ट उत्पादन हुन नसकेको उद्योग प्रशासनको भनाइ छ ।

उद्योगले पछिल्लो चार वर्षदेखि निरन्तर घाटा बेहोरिरहेको छ । उद्योगबाट प्राप्त जानकारीअनुसार आर्थिक वर्ष ०७५/७६ देखि ०७८/७९ सम्ममा उद्योगलाई ६५ करोड ४७ लाख १६ हजार ७८२ रुपैयाँ नोक्सान भएको छ । आर्थिक वर्ष ०७४/७५ मा १६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको उद्योग त्यसपछि निरन्तर घाटामा गएको हो । आर्थिक वर्ष ०७५/७६ मा उद्योगले एक करोड पाँच लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो । त्यसपछि आर्थिक वर्ष ०७६/७७ मा २३ करोड ८२ लाख, ०७७/७८ मा १७ करोड चार लाख रुपैयाँ उद्योगलाई घाटा भएको थियो ।

गत आर्थिक वर्षमा उद्योगले एक अर्ब २२ करोड आम्दनी गरेर एक अर्ब ३९ करोड खर्च गरेको बताइएको छ । गत आर्थिक वर्ष उद्योगको नोक्सानी २३ करोड ५५ लाख रुपैयाँ रहेको छ । कर्मचारी, उपकरण, पुरानो प्रविधि, बजारको अभाव, मूल्य समायोजन, प्रतिस्पर्धात्मक बजारलगायतका समस्या उद्योगमा रहेको महाप्रबन्धक बसन्तकुमार पाण्डेले बताउनुभयो । उत्पादन क्षमता र बिक्रीसमेत घट्दा उद्योगले निरन्तर घाटा बेहोरिरहेको उहाँको भनाइ छ ।

यता, उद्योग सञ्चालन गर्न माग गर्दै अखिल नेपाल औद्योगिक मजदुर संघले आन्दोलन गर्दै आएको छ । मजदुर संघले पुस २४ गतेदेखि माघ ७ गतेसम्म हेटौंडा सिमेण्ट उद्योगको प्रशासनिक भवन अगाडि कालोपट्टी बाँधेर धर्ना दिइरहेको छ । मजदुर संघले दैनिकरुपमा दिनको २ घण्टा धर्ना बस्दै आएको अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष दीपक सिंह थोकरले जानकारी दिनुभयो ।

उद्योग दशैंबाट नै ठप्प रहेको बताउँदै उहाँले भन्नुभयो, ‘सिमेण्ट उद्योगले कोइला नभएको, चुनढुङ्गा नभएको भन्दै उत्पादन बन्द गरेको छ । मजदुर संघले उद्योग सञ्चालन गर्नुपर्ने माग राखी पेश गरेको अल्टिमेटममा व्यवस्थापनले वास्ता गरेको छैन, विभिन्न बहाना बनाई उत्पादन बन्द गरेको छ ।’ अत्यावश्यकीय कच्चा पदार्थ हालसम्म पनि पर्याप्तरुपमा जम्मा गर्न नसकेको भन्दै अध्यक्ष थाकरले महाप्रबन्धकले उद्योग नियमित सञ्चालन गर्न कुनै प्रयत्न नगरेको आरोप लगाउनुभयो । हेटौंडा सिमेन्ट उद्योगमा १९३ जना स्थायी कर्मचारी रहेका छन् भने दैनिक ज्यालादारी एक सय जनाभन्दा बढी रहेका छन् ।