हेटौंडाः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५, रातोमाटे चेकपोष्टबाट मकवानपुर प्रहरीले पेस्तोल र गोलीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुरा जिल्लाको हिमाली नगरपालिका–१ का ३१ वर्षीय देव बहादुर थापा र नवलपरासी जिल्ला पुर्वी सुस्ता कावासोती नगरपालिका–५ का ५७ वर्षीय वीर बहादुर थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
शुक्रबार बिहान १० बजेर २० मिनेटको समयमा प्रहरीचौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले चितवनबाट काकडभिट्टातर्फ जाँदै गरेको मे १ ख २५३७ नम्बरको यात्रुबाहक बसलाई रोकी सुरक्षाजाँच गर्दा बसमा सवार देव र वीरको साथबाट पेस्तोल १ थान, गोली १ थान, र दुइवटा प्लास्टिकमा सेतो कलरको पाउडर २ किलो ७ सय ग्राम फेला पारेको थियो । पेस्तोल र गोलीसहित २ जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिनुभएको छ ।










