हेटौंडाः हेटौंडामा पर्यटन पत्रकारितासम्बन्धी तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजना तथा बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको सहयोगमा सुरु भएको तालिमको बिहिबार मन्त्री पुकार महर्जनले उद्घाटन गर्नुभयो ।
तालिमलाई सम्बोधन गर्नुहुँदै मन्त्री महर्जनले तालिमले पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले प्रदेशभित्रका विभिन्न स्थानमा लुकेका पर्यटकीय क्षेत्र पहिचान गर्न, प्रचार गर्न पत्रकारको भूमिका हुने बताउनुभयो । मन्त्रालयले प्रदेशभित्र आन्तरिक र बाह्य पर्यटकलाई भित्र्याउने उद्देश्यले तालिमको सुरुवात गरेको र आगामी वर्षमा प्रदेशभित्र १३ वटै जिल्लामा तालिमको आयोजना गर्ने बताउनुभयो ।
तालिममा बागमती प्रदेशभित्रका २५ जना सन्चारकर्मी सहभागी छन् । तालिममा प्रशिक्षकहरु कुवेर चालिसे, अशोक सिलवाल र टिपि भुसालले सहजीकरण गर्नुहुनेछ । नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाको सभाध्यक्षमा भएको तालिम उद्घाटन कार्यक्रममा मन्त्रालयका सचिव गोविन्द रिजाल र नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष प्रताप विष्ट लगायतको आतिथ्य रहेको थियो ।