हेटौंडाः विगत ३ महिनादेखि आईसियुमा उपचाररत ६५ वर्षीया फूलमाया राईको उद्दार गरिएको छ । मंगलबार मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौंडाले राईको उद्दार गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाको समन्वयमा राईको उद्दार गरिएको मानवसेवा आश्रमले जानकारी दिएको छ । ठेलामा व्यापार गरेर जीवन गुजारा गर्दै आउनुभएकी राईको हेरचाह र पालनपोषण गर्ने कोही नरहेको हेटौंडा महानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले बताउनुभयो । आफन्तको नाममा भएको एउटा छोराले समेत आमाप्रतिको जिम्मेवारी पूरा नगरेपछि राई एक्लिनुभएको स्थानीयले बताएका छन् ।

जसोतसो जीवन गुजारा गरिरहेकी राईको मुटुमा समस्या देखिएको हेटौंडा अस्पतालले जनाएको छ । हेटौंडा उपमहानगरपालिका–१० मा बसोबास गर्दै आउनुभएको राई विगत डेढ महिनादेखि हेटौंडा अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । राईलाई मानवसेवा आश्रम हेटौंडाले हेरचार, उपचार र पालनपोषण गर्नेछ ।

मानवसेवा आश्रम २०६९ सालदेखि नै देशव्यापीरुपमा सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन विताउन बाध्य अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारीरिक तथा मानसिकरुपमा अति कमजोर मानवहरुको उद्दार, उपचार, पालनपोषण एवम् पारिवारिक पुनर्मिलनको सेवामा समर्पित हुँदै आइरहेको छ ।