विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुहुँदै वडा सदस्य सुरज बर्तौला ।

हेटौँडाः हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यालयका पूर्वशिक्षक पुरुषोत्तम ढकालले आफ्नो स्वर्गीय आमा र बुबाको सम्झनामा स्थापना गर्नुभएको पदमादेवी–केदारनाथ अक्षयकोषबाट विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

शनिबार विद्यालयका ४ कक्षादेखि ८ कक्षासम्मका विपन्न परिवारका जेहेनदार ११ जना विद्यार्थीलाई विद्यालयको पोशाक, कापी, कलम वितरण गरेको हो । अक्षयकोषमा ५ लाख रुपैयाँ रहेको छ । वडा सदस्य सुरज बर्तौला, इन्द्रप्रसाद रिजाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको पनि आतिथ्य रहेको थियो ।

सिद्धार्थ माविमा विद्यालयमा सौरव–गौरव वनस्खण्डी अक्षकोष, रवीवादन स्मृति अक्षयकोष, गोकुल बागेश्वरी अक्षकोष र रिन्छेङ घिसिङ स्मृति गरी ५ वटा कोषहरु रहेको छ । रामेश्वरी स्मृतिकोषबाट १ कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीलाई शैक्षिक सामग्रीहरु सहयोग गर्ने गरेको, सौरव–गौरव कोषबाट कक्षा ११ मा उत्कृष्ट अंक ल्याउने एकजना छात्रा र एकजना छात्रलाई पुरस्कृत गर्ने गरेको, गोकुल बागेश्वरी कोषबाट वर्षभरी उत्कृष्ट हुने २ जना शिक्षकहरुलाई सम्मान गर्ने गरेको र घिसिङ स्मृतिकोषबाट जेहेनदार विद्यार्थीलाई सहयोग गर्ने गरेको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले जानकारी दिनुभएको छ । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा दुइ हजार एक सय २५ जना विद्यार्थी अध्ययनरत छन् ।