अक्षय कोषको सुरुवातको क्रममा खिचीएको तस्वीर ।

हेटौंडाः हेटौंडा–६, चौघडास्थित बंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) मा छात्रवृति तथा विषयगत सहयोग अक्षय कोषको सुरुवात भएको छ । शनिबारबाट सुरुवात गरिएको विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति एवम् विषयगत सहयोगका लागि सुरुवात गरेको कोषमा ७ लाख २३ हजार ५ सय ६६ रुपैयाँ संकलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको सभाध्यक्षता तथा वडाध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको थियो । वडा अध्यक्ष दाहालले आगामी आर्थिक वर्षमा वडाले ५ लाख रुपैयाँ अक्षयकोष जम्मा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।

अक्षय कोष निर्माणका लागि विद्यालयका पूर्वविद्यार्थी २०४४ व्याच समुहबाट ३ लाख, हेटौँडा–७ न्युरेनीका शम्भु प्रसाद आचार्यले १ लाख २३ हजार ४ सय ५६ रुपैयाँ, चौघडाका अजय बिक्रम मानन्धरले स्व. पिता दशबहादुर मानन्धर र माता चैत माँया मानन्धरको स्मृतिमा १ लाख १० हजार १ सय १० रुपैयाँ, अध्यक्ष श्याम प्रसाद श्रेष्ठले ५० हजार, हाल अमेरिकामा रहनुभएका हेटौंडाका सुपेन्द्र बस्नेतले ५० हजार, (हाल क्यानडा बस्ने) शान्ति टोलका इन्जिनियर भरत सापकोटाले १ लाख रुपैयाँ र गरी अक्षय कोषमा ७ लाख २३ हजार ५ सय ६६ रुपैयाँ संकलन भएको श्रेष्ठले जानकारी दिनुभयो । साथै अच्युत देबकोटाले (प्रस्तावीत) १ लाख रुपैयाँको घोषण गर्नु भएको छ ।

पूर्व वडाध्यक्ष अर्जुन चौलागाई, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार त्रिबिक्रम मानन्धर, मरिन जिल्ला वन अधिकृत तथा बंशगोपाल माविको एसएलसी २०४४ समुहको अध्यक्ष अजय बिक्रम मानन्धर, बंशगोपाल पूर्वविद्यार्थी संघको अध्यक्ष शालिकराम घिमिरे, बंशगोपाल विद्यालयका पूर्वशिक्षक शम्भु प्रसाद आचार्य, विजय श्रेष्ठ, पुर्व विद्यार्थी, विभिन्न संघ संस्थाको प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी लगायतको उपस्थित रहेको थियो ।