हेटौँडाः दोलखा र सिन्धुली जिल्लामा एकैदिन २ जना मृत फेला परेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारीअनुसार दोलखा जिल्लाको शैलुङ गाउँपालिका–५, काटाकुटीमा एकजना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा शैलुङ गाउँपालिका–४ मागापौवाका १८ वर्षीय भिष्म भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ ।
सोमबार एक विद्यालय नजिक बाटोबाट १ सय मिटर तल भिरमा पुरुष मृत अवस्थामा रहेको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई हेर्दा भण्डारीको टाउको पछाडिको भागमा चोट रहेको र बायाँ हातको हत्केला नभएको अवस्थामा फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि पशुपति चौलागाई स्मृति अस्पताल चरिकोट लगिएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–५, आहालेमा एकजना महिला मृत फेला परेकी छन् । मृत फेला पर्नेमा ३८ वर्षीया सावित्री तोलाङ्गे रहेको प्रहरीले जानकारी दिएको छ । तोलाङ्गे सोमबार दिउँसो १ बजेको समयमा घरमा कसैलाई जानकारी नगराई निस्केकी सावित्री बेलुकासम्म घर नफर्केपछि खोजी गर्दै जाँदा स्थानीयको गोठमा मृत अवस्थामा फेला परेकी थिईन् । लामो समयदेखि छारे रोगको विरामी रहेको र औषधी सेवन नगरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।