रक्तदान गर्दै रक्तदाता ।

हेटौँडाः हेटौँडा–१८, हर्नामाडीस्थित ज्योति माविको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम भएको छ । बिहिबार बिहान विद्यालय परिसरमै भएको कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।

रक्तसञ्चार केन्द्रमा बी र ओ पोजेटिभ समूहको रगत पर्याप्त भएकोले ए र एबी पोजेटिभ समूहका रगत मात्रै संकलन गरिएको रक्तसञ्चार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभएको छ । यसअघि बुधबार हेटौँडा–७, नागस्वतीस्थित हेटौँडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम भएको थियो । सहकारीको २५ औं वार्षिकोत्सवको अवसरमा मुख्य कार्यालय परिसरमा भएको कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए ।

यस्तै शनिबार कैलाश गाउँपालिकास्थित नेपाल रेडक्रस सोसाइटी गोगने उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम हुँदैछ भने पुस २१ गते मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा पनि रक्तदान कार्यक्रम हुने रक्तसञ्चार केन्द्र हेटौँडाका प्राविधिक सापकोटाले जानकारी दिनुभएको छ ।