हेटौंडाः सामुदायिक र संस्थागत विद्यालयबीच प्रतिस्पर्धा नभई सहकार्य हुनुपर्नेमा जोड दिइएको छ । हेटौंडा–४ का सामुदायिक र संस्थागत विद्यालयहरुको असल अभ्यासहरु प्रस्तुति कार्यक्रममा सहभागीहरुले शैक्षिक गुणस्तर अभिवृद्धिमा सामुदायिक र संस्थागत विद्यालयबीच समन्वय र सहकार्य हुनुपर्ने बताएका हुन् ।
हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा शनिबार वडाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको असल अभ्यास प्रस्तुति तथा शैक्षिक कार्ययोजनासम्बन्धी छलफल कार्यक्रम भएको छ । शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को व्यवस्थापनमा हेटौंडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयको सभाहलमा कार्यक्रम भएको हो ।
कार्यक्रम ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख हरिश्चन्द्र सापकोटा तथा शिक्षा अधिकृत रमेश बिडारीको आतिथ्य थियो । कार्यक्रममा वडाभित्रका ३ वटा सामुदायिक र ४ वटा संस्थागत विद्यालयले आ–आफ्ना विद्यालयमा गरिएका सकारात्मक प्रयास र असल अभ्यास प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष सिग्देलले शैक्षिक क्षेत्रको विकासका लागि आफू उत्साहित र समर्पित भएको बताउनुभयो । वडाका लागि विनियोजित बजेटको करिब एक तिहाई शिक्षा क्षेत्रमा खर्च गर्ने आफ्नो योजना उहाँले सुनाउनुभयो । हेटौंडाको ४ नम्बर वडा मकवानपुरको मात्र नभई देशकै शैक्षिक केन्द्र बन्दै गइरहेको उहाँले दावी गर्नुभयो ।
वडाभित्रका विद्यालयबीच स्वच्छ प्रतिस्पर्धासँगै शिक्षामा सहकार्य र समन्वयका लागि शैक्षिक गुणस्तर सुधार समितिले काम गरिरहेको वडा अध्यक्ष सिग्देलल बताउनुभयो । सामुदायिक र संस्थागत विद्यालयको प्रतिनिधित्व रहने गरी समिति निर्माण भएको र वडाको गतिविधिमा समितिको सहकार्य प्रशंसनीय रहेको उहाँको भनाइ छ । ४ नम्बर वडाभित्रका विद्यालयमा गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्न निश्चित मापदण्ड निर्माण गर्दै अनुगमन गर्नुपर्ने आवश्यकता सिग्देलले औंल्याउनुभयो ।
शिक्षा विकास महाशाखा प्रमुख सापकोटाले शैक्षिक विकासमा ४ नम्बर वडाले गरेका कार्यक्रम सबैका लागि अनुकरणीय रहेको बताउनुभयो । उहाँले बजेट सीमाका कारण महाशाखाले चाहेजस्तो कार्य गर्न नसक्ने भन्दै विद्यालयको भौतिक र शैक्षिक विकासका लागि आफू सदैब सकारात्मक रहेको जानकारी दिनुभयो ।
शैक्षिक गुणस्तर सुधार समिति अध्यक्ष एवम् श्रमिक माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीराम दहालले समितिको विगतका क्रियाकलाप र यस वर्षको कार्ययोजनाबारे जानकारी गराउनुभयो । ४ नम्बर वडा कार्यालयसँगको सहकार्यमा वडाभित्रका विद्यालयको शैक्षिक गुणस्तरे अभिवृद्धिमा समिति क्रियाशील हुने बताउनुभयो ।
सामुदायिक विद्यालय र संस्थागत विद्यालयको सम्बन्ध प्रगाढ बनाउन आवश्यक रहेको अध्यक्ष दहालको भनाइ छ । समितिले वडाभित्रका विद्यालयको सहभागितामा गतवर्ष शैक्षिक सामग्री प्रदर्शनी, नृत्य तथा गायन प्रतियोगिता, शिक्षक तालिम, शैक्षिक एवम् सामुदायिक अवलोकन भ्रमणलगायतका कार्यक्रम गरेको जानकारी दिनुभयो । समितिले यस वर्ष पनि शिक्षक तालिम र अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो । वडास्तरीय खेलकुद, शैक्षिक सामग्री प्रदर्शनी, नृत्य कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष दहालले बताउनुभयो । वडाभित्रका विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि समेत समितिले आवश्यक कार्य गर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा ४ नम्बर वडाका आधुनिक राष्ट्रिय मावि, भूटनदेवी मावि, श्रमिक मावि, नवोदय शिशु सदन, ब्रह्मदिक एकडेमी, सत्यम जेभियर्स स्कूल, आमसाई स्कूलले विद्यालयको परिचयसहित विद्यालयका समस्या, चुनौती र विविध गतिविधिबारे प्रस्तुतिकरण गरेका थिए । प्रस्तुतिकरणमा विद्यालयहरुले शैक्षिक गतिविधिसँगै विद्यार्थी तथा अभिभावक र समुदायसँगको सहभागितामा गरिएका असल अभ्यासलाई जोड दिएका थिए ।
कार्यक्रममा विद्यालयहरुको प्रस्तुतिकरणलाई किशोर पराजुली र सञ्जयकुमार बस्नेतले समीक्षा तथा टिप्पणी गर्नुभएको थियो । प्रस्तुतिकरण गर्ने विभिन्न विद्यालयमा गरिएका असल अभ्यासलाई अन्य विद्यालयले पनि अनुशरण गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभएको छ । विभिन्न विद्यालयका शिक्षकले कक्षा कोठाभित्र गर्ने शैक्षिक क्रियाकलापको आदानप्रदानमा समेत यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने पराजुलीले बताउनुभयो ।
कार्यक्रममा वडा सदस्यहरु तथा टोल विकास संस्थाका पदाधिकारी, शैक्षिक तथा सामाजिक व्यक्तिहरुको सहभागिता थियो । वडाभित्रका विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, व्यवस्थापन समितिको महिला सदस्य, शिक्षक अभिभावक संघको अध्यक्ष, प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, खेल शिक्षक, बाल क्लब अध्यक्षलगायतको पनि कार्यक्रममा सहभागिता थियो ।