हेटौंडाः प्रधानमन्त्री क्रिकेट प्रतियोगिताको टिम छनोटका लागि मकवानपुर जिल्लाले प्रतियोगिता सुरु गरेको छ । हेटौंडा–४, हुप्रचौरमा शनिबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टले विजयी सुरुवात गरेको छ ।
हेटौंडा स्कूल अफ म्यानेजमेन्टले रेड स्वाइल क्रिकेट क्लबलाई ६५ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको म्यानेजन्टले निर्धारित ३५ ओभरमा ५ विकेटको क्षतिमा २५५ रन बनाएको थियो । म्यानेजमेन्टको तर्फबाट ८० बलमा सर्वाधिक ११४ रन बनाउँदै युविन बुढाथोकीले शतक प्रहार गरेका थिए । विशाल फुयालले ५१ बलमा ५५ रन, विशेष विक्रम थापाले २५ रन, साहेव यादवले २३ रन बनाएका थिए । रेड स्वाइलका रोहित केसरीले ३ विकेट, राजीव यादव र प्रिन्स श्रेष्ठले १–१ विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको रेड स्वइलले निर्धारित ३५ ओभरमा १० विकेटको गुमाएर १९१ रन मात्र जोड्न सफल भएको थियो ।
रेड स्वाइलको तर्फबाट रमेश लुईंटेलले ५८ रन र गौरव क्षेत्रीले ३३ रन बनाएका थिए । म्यानेजमेन्टका अहमद राजाले ४ र सन्तोष दासले ३ विकेट लिएका थिए ।
खेलको म्यान अफ द म्याच सर्वाधिक रन बनाउने म्यानेजमेन्टका युविन बुढाथोकी घोषित भएका छन् ।
छनोट प्रतियोगितामा सहभागी भएका प्रतियोगीहरुको खेल प्रदर्शनीका आधारमा मकवानपुरबाट पहिलो चरणमा २२ जनाको टिम छनोट गरी त्यसमध्ये १४ जना खेलाडीहरुलाई दोस्रो चरणको छनोट प्रतियोगिता प्रदेश पठाउने प्रदेश क्रिकेट संघको उपाध्यक्ष पे्रम क्षेत्रीले जानकारी दिनुभएको छ । गतवर्षको प्रतियोगितमा मकवानपुरबाट रामनरेश गिरी, गौरव खड्का, रिजन ढकाल र शुभ कंसाकार छनोट भएको क्षेत्रीले बताउनुभयो । छनोट प्रतियोगिताअन्तर्गत् बुधबार रेड स्वाइलले मकवानपुर क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ भने म्यानेजमेन्टले पनि सोमबार मकवानपुर क्रिकेट क्लबसँगै प्रतिस्पर्धा गर्नुपर्नेछ । प्रतियोगिताको फाइनल खेल १२ गते हुनेछ ।
बागमती क्रिकेट संघको सदस्य विनोद प्रधानको संयोजकत्वमा प्रतियोगितामा ५ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन जिल्ला क्रिकेट संघका निवर्तमान अध्यक्ष वासुलाल श्रेष्ठले गर्नुभयो । उद्घाटन कार्यक्रममा बागमती क्रिकेट संघको सदस्य धिरज श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।