हेटौंडाः हेटौंडा–१६, हटियास्थित जनप्रिय माविका विद्यार्थीलाई छात्रवृत्ति र न्यानो कपडा वितरण गरिएको छ । शुक्रबार विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद पनेरुले १५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्नुभयो भने शिक्षक यशोदा भट्टराईले जन्मदिनको अवसरमा विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।
पनेरुले १५ जना विद्यार्थीको छात्रवृत्ति वापत ५५ हजार ३ सय ७० रुपैयाँ हस्तान्तरण गर्नुभयो भने शिक्षक भट्टराईले प्राथमिक तहका १५ जना विद्यार्थीलाई न्यानो कपडा स्वीटर वितरण गर्नुभएको छ । केही समयअघि मात्रै विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले आफ्नो विवाह वर्षगाँठको अवसरमा २५ थान र शिक्षक कमला मिश्रले आफ्नो बुबाको स्मृतिमा १५ थान न्यानो कपडा विद्यार्थीलाई हस्तान्तरण गर्नुभएको थियो ।
विद्यालयका शिक्षक संप्रस पौडेलका अनुसार विद्यालयका शिक्षकहरुले विभिन्न अवसरमा विद्यार्थीलाई न्यानो कपडा वितरण गर्न सुरु गरेको छ । कक्षाका शिक्षकहरुको मुल्याङ्कन र विद्यार्थीहरुको अवस्था हेरेर कपडा वितरण गरिने उहाँले बताउनुभयो । कक्षा १२ सम्म अध्ययन अध्यापन हुने विद्यालयमा १ हजार ८ सयभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।