हेटौँडाः हेटौँडा–४, हुप्रचौरमा हेटौँडा भ्यु टावर निर्माण सम्झौता गरी निर्माण कार्य सुरु समेत नगरेको कम्पनिविरुद्ध हेटौँडा उपमहानगरपालिकाले कानुनी लडाइँ लड्ने भएको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले कानुनी लडाइँ लड्ने निर्णय गरेको एक वडा अध्यक्षले जानकारी दिनुभएको छ ।
व्यावसायिक केन्द्रको रुपमा १३ तलाको भ्यु टावर निर्माण गर्न हेटौँडा उपमहानगरपालिकासँग लामा–रसुवा–बानियाँ जेभीले ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । २०७८ साल मंसिर २० गते निर्माणसम्बन्धी सम्झौता गरेपछि भ्यु टावर निर्माणस्थलमा रहेको शहीद बासुदेव सभागृह भत्काएको निर्माण कम्पनिले भ्यु टावर निर्माणको काम भने सुरु गरेको छैन ।
निर्माण कम्पनिले भ्यु टावर निर्माणस्थलमा पूर्वराजा वीरेन्द्रको सालिक नहटाएकोले निर्माण कार्य सुरु गर्न नसकिएको भन्दै उपमहानगरपालिकासँग क्षतिपूर्ति माग गरेको छ । सम्झौता बमोजिम भ्यु टावर निर्माण कार्य सुरु नै नगरी निर्माण कम्पनिले क्षतिपूर्ति माग गरेपछि हेटौँडा उपमहानगरपालिकाले कानुनी लडाइँ लड्ने निर्णय गरेको हो ।
तत्कालिन नगरप्रमुख हरिबहादुर महतको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँ र लामा–रसुवा–बानियाँ जेभीका सञ्चालक ऋषि बानियाँले भ्यु टावर निर्माणसम्बन्धी सम्झौता गरेको थियो । भ्यु टावर निर्माणका लागि ठेक्का आव्हान गर्दा ७७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागत अनुमान गरिएको थियो । १३ तले भवनमा दुई तलाको अन्डरग्राउन्ड, चारैतिर लिफ्ट, दुई वटा भ¥याङ, सबैभन्दा माथि भ्यु–टावर निर्माण गर्ने गरी सम्झौता भएको थियो । तीन वर्षमा काम सक्ने गरी यो भवनको ठेक्का सम्झौता भएको थियो ।