हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले नगर अस्पतालका लागि दुइजना मेडिकल अधिकृत नियुक्त गर्न लिइएको लिखित परीक्षामा एकजना मात्रै उत्तीर्ण भएका छन् । उपमहानगरपालिकाले सोमबार लिएको लिखित परीक्षामा मेडिकल अधिकृत निशान अर्याल उत्तीर्ण भएका छन् । उपमहानगरपालिकाले दुइजना मेडिकल अधिकृत नियुक्तिका लागि सूचना प्रकाशित गरेकोमा दुइजनाको मात्रै आवेदन परेको थियो ।
लिखित परीक्षामा एकजना मात्रै उत्तीर्ण भएको हेटौँडा उपमहानगरपालिकाको प्रशासन शाखाका अधिकृत लक्ष्मण मैनालीले जानकारी दिनुभएको छ । लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको अन्तरवार्ता पुस ६ गते शुक्रबार हुने उहाँले जानकारी दिनुभयो । बागमती प्रदेश सरकारको दरबन्दीमा उपमहानगरपालिकाले मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मी नियुक्तिको प्रक्रिया थालनी गरेको हो । हेटौँडा–१३, पदमपोखरी र हेटौँडा–१६, हटियास्थित अस्पतालमा खटाउने गरी दुइजना मेडिकल अधिकृतसहित आवश्यक स्वास्थ्यकर्मी नियुक्तिको प्रक्रिया अगाडि बढाइएको थियो ।
यसअघि संघीय सरकारको दरबन्दीमा एकजना मेडिकल अधिकृतले हटिया अस्पतालमा सेवा नै सुरु गरिसकेकोले अहिलेलाई एकजना मात्रै मेडिकल अधिकृत नियुक्त भए पनि पुग्ने बताइएको छ । आवश्यकताअनुसार पुनः विज्ञापन गरेर रिक्त रहने मेडिकल अधिकृतको पदपूर्ती गरिने मैनालीले बताउनुभएको छ । हेटौँडा उपमहानगरपालिकाले दुइवटा अस्पतालका साथै नगरका सबै वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ ।