ख्रीष्टमसको शुभकामना आदान प्रदान कार्यक्रममा तस्विर

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले सबै मानिसहरुले सबै धर्मको सम्मान गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमबार हेटौंडा नगर पाष्टर एसोसिएसनको आयोजनामा भएको ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख लामाले यस्तो बताउनुभएको हो ।

उहाँले इसाई धर्मावलम्बीहरुले धेरै आशा र विश्वासका साथ ख्रीष्टमस पर्व मनाउँदै आइरहेको कारण शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । अहिले विज्ञान र प्रविधिको युगमा अरु धर्मजस्तै इसाई धर्मको पनि धेरै महत्व, हौसला, उत्प्रेरणा र आर्कषण बढ्दै गएकाले ख्रीष्टमसको कार्यक्रममा पनि सबै धर्मका मानिसहरु सहभागी हुने गरेको बताउनुभयो ।

सरकारले सबै जात, धर्म र वर्गलाई एकैरुपमा विकास गर्नुपर्ने भन्दै मेयर लामाले मानिसहरुले संविधानलाई सही ढंगले प्रयोग गर्नुपर्ने बताउनुभयो । इसाई धर्मावलम्बीहरुले गर्नुपर्ने धेरै कुराहरु रहेको र राज्यलाई विश्वास दिलाउनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । विभिन्न चर्चहरुलाई कसरी स्थानीय तहमा, प्रदेशमा र संघका दर्ता गरेर लैजाने एवम् सूचीकृत गर्ने भन्ने कुरामा लागिरहेको नगरप्रमुख लामाको भनाइ छ ।

अन्य धर्महरु जस्तै इसाई धर्मलाई पनि कसरी लैजाने भन्नेबारेमा नगरपालिकामार्फत् खोजी गरिरहेको उहाँले बताउनुभयो । धार्मिक व्यक्तित्व सँगसँगै देश तथा समाजमा केही गर्नका लागि उत्पादनमा जोड दिनुपर्ने, सिर्जनशील हुनुपर्ने उहाँको भनाइ छ । विभिन्न क्षेत्रमा पछाडि परेका व्यक्तिहरुको धर्म, जात, वर्ग नहेरी नगरपालिकामार्फत सहयोग गरिने उहाँले बताउनुभयो । ख्रीष्टमस पर्वको शुभकामना व्यक्त गर्नुहुँदै नगर प्रमुख लामाले नगरपालिकामार्फत् कुनै धर्मलाई पनि भेदभाव नगरेर धार्मिक स्थलको निर्माणका लागि बजेट विनियोजन गरेको बताउनुभयो ।

मकवानपुर इसाई आवाजका अध्यक्ष रामकृष्ण पन्थले एसुले दिएको शिक्षाले देशमा सकारात्मक परिवर्तन आएकाले आफ्नो राज चलाउन नपाउने भएकाले एहुदीहरु एसुको विरुद्धमा गएको बताउनुभयो । एकअर्कामा प्रेमको सन्देश साटासाट गरेर ख्रीष्टमस मनाउनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।

कार्यक्रम नगर पाष्टर एसोसिएसनका अध्यक्ष अशोक अधिकारीको सभाध्यक्षता तथा नगरप्रमुख लामाको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँ, वडा नम्बर ५ का वडा अध्यक्ष सुशील घिमिरे, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य विष्णु थपलिया, मकवानपुर ख्रीष्टियनका अध्यक्ष नवराज घलान, मकवानपुर इसाई आवाजका अध्यक्ष पन्थ, गैरसरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्ष आरती पाठक, मकवानपुर इसाइ समाजका सहसचिव अभिषेक उप्रेती, पास्टर सूर्य राई, नगर टोल विकास समन्वय समिति अध्यक्ष ध्रुव अधिकारीलगायतको उपस्थिति रहेको थियो ।