हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी जिल्ला लिग क्वालिफाइ नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार क्वाटरफाइनल चरणका खेलहरु सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
मंगलबार हेटौंडा–५, पिप्लेस्थित पिप्ले क्याम्पा रंगशालामा भएको पहिलो खेलमा जनप्रवाह युथ क्लबले हेटौंडा–१४ स्थित समाज कल्याण क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । मंगलबार भएकै दोस्रो खेलमा बकैया युथ क्लब विजयी भएको छ । बकैया क्लबले सहयोगी क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो । बकैयाको तर्फबाट आयुष नेगीले ३ गोल गर्दै खेलको म्यान अफ द म्याच बनेका छन् ।
प्रतियोगिता आयोजनाका लागि करिब ४ लाख ८५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको फाइनल खेल मंसिर ३० गते हुनेछ । प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
सोमबार भएको पहिलो खेलमा जनहित युवा क्लब विजयी भएको थियो । हेटौंडा–१९ स्थित जनहित युवा क्लबले हेटौंडा–१९ कै ज्ञानज्योति क्लबलाई ५–१ गोल अन्तरले पराजित गरेको थियो । खेलको म्यान अफ द म्याच जनहित क्लबका एलिस तामाङ घोषित भएका छन् ।
यस्तै, सोमबार भएको दोस्रो खेलमा हेटौंडा–१२ स्थित पञ्चशील युवा क्लब विजयी भएको छ । पञ्चशील युवा क्लबले हेटौंडा–२ स्थित दि रिभाइबल युथ क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो । खेलको म्यान अफ द म्याच पञ्चशिल क्लबका शुभराज गोले घोषित भएका छन् ।
सोमबार दोस्रो खेल समाप्त भएलगत्तै रेफ्री ग्राउन्ड बाहिर निस्कँदा दि रिभाइबल क्लबका खेलाडी, अफिसियलसहित टिम मेनेजरले रेफ्रीमाथि हातपात तथा अभद्र व्यवहार गरेका थिए । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ ।