हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार शिविरमा ७८ जनाले सेवा लिएका छन् । उपमहानगरको दुर्गम क्षेत्र लक्षित गरी जनस्वास्थ्य शाखाले शनिबार हेटौँडा–१६, सिमलचौरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा पाठेघर, स्तन क्यान्सर तथा प्रजनन् फिस्टुलासम्बन्धी निःशुल्क जाँच गरिएको हेटौँडा उपमहानगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख भोला चौलागाईले जानकारी दिनुभयो ।
शिविरमा डा. विदुर भण्डारी र डा. कमलराज न्यौपानेले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । ‘पालिकाले १ सय २० जनाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य लिएको थियो’, चौलागाईले भन्नुभयो, ‘जानकारी ढिलो पुगेका कारण धेरै मानिसले स्वास्थ्यजाँच गराउन पाएनन् ।’ चौलागाईका अनुसार धेरै महिलामा प्रजनन् फिस्टुलाको समस्या देखिएको छ ।