हेटौंडाः आँचल साहित्य कलापुञ्ज मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को सहकार्यमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता भएको छ । शनिबार भएको विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा हेटौंडा–४ स्थित ब्रह्मदिक एकेडेमीकी छात्रा प्रियान्सु पोखरेल प्रथम हुनुभएको छ ।
लैङ्गिक हिंसा न्यूनीकरणमा सरोकारवालाको भूमिका विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सिस्नुपानी–साहित्य संगम मकवानपुरको सभाहलमा भएको थियो । प्रतियोगितामा हेटौंडा–५ स्थित जीएस निकेतनकी छात्रा पूर्वजा न्यौपाने द्वितीय हुनुभएको छ । यस्तै, जनप्रिय माध्यमिक विद्यालयकी छात्रा एरिना चौलागाईं तृतीय र हेटौंडा–१ स्थित अमर माध्यमिक विद्यालयका छात्र पारस अधिकारी सान्त्वना हुनुभएको छ ।
प्रतियोगितामा प्रथम द्वितीय, तृतीय र सान्त्वना हुनेहरुले क्रमशः ३ हजारु रुपैयाँ, २ हजार रुपैयाँ, १ हजार रुपैयाँ र ५ सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट २३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी भएका वक्ताहरुलाई आफ्नो भनाई राख्न ५ मिनेटको समय दिएको थियो ।
आँचल साहित्य कलापुञ्ज मकवानपुरकी उपाध्यक्ष निरा शर्माले महिलाहरुले विभिन्न हिंसाहरु भोग्नु परेको कारणले गर्दा आँचलले विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । उहाँले महिला हिंसाविरुद्ध १६ दिने अभियानअन्तर्गत् यो प्रतियोगिताको आयोजना गरेको बताउनुभयो ।
आँचल साहित्य कलापुञ्ज मकवानपुरकी अध्यक्ष भावना सापकोटाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा ४ की सदस्य गीता त्रिपाठीको प्रमुख आतिथ्यमा प्रतियोगिता भएको थियो । प्रतियोगितामा सामाजिक विकास मन्त्रालयको महिला विभागकी चन्दा व्यञ्जनकार, आँचलकी संस्थापक अध्यक्ष मुना अर्याल, साहित्यकार देवराज खरेल, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलालगायतको उपस्थिति रहेको थियो ।