फाइल तस्वीर

हेटौंडाः हेटौैंडामा जारी हेटौंडा कप एशियाली खुल्ला बुद्धिचाल प्रतियोगितामा नेपाली खेलाडीलाई हराउँदै विदेशी खेलाडी अगाडि बढेका छन् । बुधबारदेखि हेटौंडाको सामना होटलमा जारी नेपाल बुद्धिचाल महासंघ, नेपाल खेलकुद महासंघ, हेटौंडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा “हेटौँडा कप एशियाली खुल्ला बुद्धिचाल प्रतियोगिता–२०८०” सञ्चालन भइरहेको छ ।

प्रतियोगिताको तेस्रो राउण्ड समाप्त हुँदा २ हजार ३ सय ९३ रेटिङ भएका प्रतियोगितामा शीर्ष वरियताका भारतीय खेलाडी शुभयान कुण्डुले तेस्रो चरणमा नेपाली युवा (यु–१५) खेलाडी पुरुषोत्तम सिलवाल माथि जीत निकाल्दै ३ अंक जोडी शतप्रतिशत अंक प्राप्त गर्न सफल हुनुभएको छ । त्यसैगरी अर्का नेपाली युवा खेलाडी ईन्जिनियर तथा एरिना आईएम सुश्रुत दाहाललाई माथ दिँदै दोस्रो वरियताका बंगलादेशी आईएम मोहमद मिजाउदिन पनि ३ अंक बटुुल्न सफल भएका छन् ।

समान ३ अंकका साथ बंगलादेशी एफएमद्वोय मोहमद सरिफ होसैन र नयेम हक भारतीय एफएम अर्बिन्देर प्रित सिंह, एरिना एफएम सौरभ चौबे, श्रयण मजुम्दार र अमरदीप बर्ट्के अग्रपंक्तिमा रहन सफल भएका छन् । बंगलादेशी अन्तर्राष्ट्रिय मास्टर (आईएम) अबु सुफियान शकिल भारतीय १ हजार ७ सय ६३ रेटिङ भएका कमद मिश्रसंग बराबरमा रोकिएसँगै दुवैको समान २.५ अंक छ । त्यसैगरी बंगलादेशी एफएम देवराज चतर्कीलाई दोस्रो झड्का दिँदै भारतीय खेलाडी राज देव, राहुल गुरुङ र फतिमा मरीउम समान साढे दुई अंकका साथ पछ्याउँदै छन् ।

वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल, श्रीलंकन महिला अन्तर्राष्ट्रिय मास्टर (डब्लुएफएम) सचिनी रानासिंघे, पुरुषोत्तम सिलवाल, एआईएम सुश्रुत दाहाल, एफएम अहमेद शेख नासिर, पूर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाई, युवा खेलाडी शुभम् श्रेष्ठ, राजन सुवेदी, मोहित कुमार सोनी, आसुतोष कुमार, अमित धोङ्दियाल, मोहमद रसिद सिद्दिकी, पंकज बोर्से, अक्षत नेगी, आशिष राई, आदित्य बर्कते, झिल्के मोक्तान, सोम्यजित दास, देवौस्निक डे, अमन कुमार, आर्तिन्जय साह, धिरेन राई, अभिनव चौहान र कृष्ण सिग्देल समान २ अंकका बनाउन सफल भएका छन् ।

प्रतियोगितामा कुल ५ लाख ८७ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार रहेको रहेको छ । प्रतियोगितामा विजेताले हुनेले १ लाख २५ हजार प्राप्त गर्ने छ, भने उपविजेताले ७५ हजार प्राप्त गर्ने छ । प्रतियोगितामा उत्कृष्ट १५ र क्याटगरी २३ गरी कुल ३८ जना खेलाडी पुरस्कृत हुने कार्यक्रम संयोजक तथा नेपाल खेलकुद महासंघ र नेपाल बुद्धिचाल महासंघका महासचिव धरम बहादुर लामाले जानकारी दिनुभयो ।