हेटौंडाः मकवानपुर प्रहरीले हेटौंडा–१५ चुरियामाईबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका–८ का २७ वर्षीय बिनय राणा मगर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
प्रहरीले बुधबार दिउँसो १ बजेर ४० मिनेटको समयमा वीरगंजबाट हेटौंडातर्फ आँउदै गरेको बा प्र ०३–००१ ज ३२० नम्बरको यात्रु बाहक माईक्रोलाई सुरक्षा जाँच गर्दा माईक्रोमा सवार मगरको साथबाट लागुऔषध फेला पारेको थियो । प्रहरीले मगरको साथबाट लागुऔषध फेनार्गन ७५ पिस, डाईजेपाम ७४ पिस र नुर्फिन ७४ पिस फेला पारेको थियो । लागुऔषधसहित मगरलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय लगिएको प्रहरीले जानकारी दिएको छ ।