हेटौंडाः बागमती प्रदेश सरकारले नमुना वडा समाजवादी कार्यक्रम स्वीकृत गरेको छ । मंगलबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको संयोजकत्वमा बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० स्वीकृत गरेको बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले जानकारी दिनुुभयो ।
मुख्यमन्त्री कार्यालयबाट नमुना वडा समाजवादी कार्यक्रमका लागि १५ करोड रुपैयाँ विनियोजन गर्ने स्वीकृत भएको छ । बैठकमा, मुख्यमन्त्रीअन्तर्गतको आर्थिक मामिला तथा योजना मन्त्रालय र मुख्य न्यायाधीवक्ताको कार्यालयको ओएनएम पास भएको छ ।
अर्थिक मामिला मन्त्रालयअन्तर्गत् केही स्थानमा कार्यालय स्थापनाको क्रममा रहेको छ । कर्मचारी तेरिजअन्तर्गत् आर्थिक मामिला तथा योजना मन्त्रालयमा ४४ जना कर्मचारी रहेकोमा ३ जना घटाई ४१ जनामा झारिएको छ । प्रदेश लेखा नियन्त्रकको कार्यालयको कर्मचारी २० जना र प्रदेश लेखा इकाइ कार्यालयमा ६५ जना कर्मचारी नै यथावत राखिएको छ ।
यस्तै, मुख्य न्यायाधीवक्ताको कार्यालयमा ११ जना कर्मचारी रहेकोमा २ जना थप गरी १३ जना पु¥याइएको छ भने प्रदेशसभा सचिवालयमा ३६ जना कर्मचारी रहेकोमा ७ जना थप गरी ४३ जना पु¥याउने निर्णय भएको छ । लेखा इकाइ कार्यालयले मन्त्रालय मातहत रहेर सोही जिल्लामा भएका कामका भुक्तानीमा सहयोग गर्नेछ ।
बैठकले समाजिक विकास मन्त्रालयबाट पेश भएको मानव बेचविखन तथा ओसारपसार विरुद्घको बागमती प्रदेशस्तरीय संरचनासम्बन्धी नीति २०८० स्वीकृत गरेको छ । यस्तै, बागमती प्रदेश बालबालिकासम्बन्धी नीति २०८० पनि स्वीकृत गरेको छ । बुधबार मन्त्रीहरु र मुख्यसचिवको बैठक बसी अहिलेसम्मको कामकारबाही र आगामी दिनमा हुने कामको बारेमा छलफल गर्नेजस्ता विषयमा बैठकमा छलफल भएको मन्त्री लामाले बताउनुभयो ।











