हेटौंडाः हेटौंडा–६ सल्लाघारीस्थित बालजागृति युवा वर्ष माविमा खेलकुद सप्ताह भएको छ । नगरपालिकाको शैक्षिक क्यालेण्डरअनुसार र विद्यालयको वार्षिक क्यालेण्डरअनुसार मंसिर ४ गतेदेखि ८ गतेसम्म विद्यालयमा खेलकुद सप्ताह मनाइएको विद्यालयकी प्रधानाध्यापक सम्झना अधिकारीले जानकारी दिनुभयो ।
सोमबार विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । विद्यालयमा नै भएका शैक्षिक सामग्रीहरु प्रयोग गरी पुरस्कार वितरण गरेको अधिकारीले बताउनुभयो । चाडपर्व सकिएर विद्यालय सञ्चालन भएको र विद्यार्थीहरुको उपस्थिति पनि न्युन रहेको हुँदा खेलकुद सप्ताह आयोजना गरी विद्यार्थीलाई आकर्षित गरिएको प्रधानाध्यापक अधिकारीले बताउनुुभयो । विद्यालयका शिक्षक श्याम कँडेलको संयोजकत्वमा तथा शिक्षकहरुको सहकार्यमा खेलकुद सप्ताह भएको हो ।
खेलकुद सप्ताहमा म्युजिकल चियर, पिटि प्रतियोगिता, सर्ट–पुट र दौड जस्ता खेल खेलाइएको थियो । बालबालिकालाई खेलकुदप्रति रुचि बढाउन यस्तो कार्यक्रम विद्यालयमा हुने गरेको छ । विद्यालय खुलेको सुरुका दिनहरुमा विद्यार्थीहरुको उपस्थिति कम हुन्छ । विद्यार्थीहरुलाई विद्यालय जान मन लगोस् भनेर पनि खेलकुद सप्ताह गरिएको प्रधानाध्यापक अधिकारी बताउनुहुन्छ ।











