बुद्धिचाल प्रतियोगिताको विषयमा जानकारी गराउनुहुँदै नेपाल बुद्धिचाल संघका महासचिव धरम लामा ।

हेटौंडाः हेटौंडामा भोलि बुधबारदेखि हेटौंडा कप एशियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु हुँदैछ । मंगलबार पत्रकार सम्मेलन गरी मकवानपुर जिल्ला बुद्धिचाल संघले प्रतियोगिताबारे जानकारी गराएको हो ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरु मंगलबार साँझसम्ममा हेटौंडा आइपुग्ने र बुुधबार बिहानबाट प्रतियोगिता सुरु हुने जनाएको छ । प्रतियोगितामा नेपालका ४० जना, भारतका ७० जना, बंगलादेशबाट ६ जना र श्रीलंकाबाट एक जना खेलाडी सहभागी हुने प्रतियोगिताका संयोजक एवम् संघका केन्द्रीय महासचिव धरम लामाले बताउनुभयो । मकवानपुर दुई जना खेलाडी प्रतियोगिता सहभागी हुने उहाँले बताउनुभयो ।

प्रतियोगितामा करिब १ सय २० जनासम्म खेलाडी सहभागी गराउने लक्ष्य भएकोमा मंगलबार बिहानसम्ममा १ सय १ जना खेलाडीले सहभागिताका लागि नाम दर्ता गरिसकेको जनाएको छ । संयोजक लामाका अनुसार गत वर्षको चैतमा प्रतियोगिता गराउनुपर्ने भएपनि संघको महाधिवेशनका कारण सरेर अहिले सञ्चालन हुन लागेको हो ।

मंसिर १७ गतेसम्म हुने प्रतियोगिता स्विस लिग प्रणालीमा खेलाइने बुद्धिचाल संघ मकवानपुरका अध्यक्ष मनोज श्रेष्ठले बताउनुभयो । जस अन्तर्गत १ घण्टा ३० मिनेट र ३० सेकेन्ड थप पहिलो चालबाट हुने उहाँले बताउनुभयो । प्रतियोगिताको विजेताले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने द्वितीय हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै तृतीय हुनेले ४० हजार रुपैयाँ, चौथो हुनेले २५ हजार रुपैयाँ र पाँचौ हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । छैठौँदेखि १० औँ स्थानमा रहनेलाई प्रतिखेलाडी १५–१५ हजार रुपैयाँ र ११ औँदेखि १५ आँै हुने खेलाडीहरुले जनही ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिता आयोजना गर्न कुल ६१ लाख १२ हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिता आयोजना गर्नका लागि हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडा, बागमती प्रदेश खेलकुद विकास परिषद् र राष्ट्रिय खेलकुद परिषद्बाट सहयोग प्राप्त भएको जनाएको छ ।