सांकेतिक तस्वीर । स्रोतः गुगल ।

हेटौंडाः चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा नरभक्षी बाघ खोज्दै गएको नेपाली सेना र निकुञ्जका अधिकारीले बाघलाई नियन्त्रणमा लिएका छन् । आइतबार राती ९ः४० बजे नरभक्षी बाघलाई नियन्त्रणमा लिएर वन्यजन्तु केन्द्र चितवन लगिएको छ । सेना र चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सुनाचुरी रेञ्ज पोष्टबाट ४ वटा हात्ती प्रयोग गरी नरभक्षी बाघको खोजी गरिएको थियो ।

शुक्रबार बिहान १० बजेर १५ मिनेटको समयमा मकवानपुरको मनहरी गाउँपालिका–६ राप्तीखोला र लोथरखोलाको दोभानमा चितवन जिल्लाको राप्ती नगरपालिका–१, दुबीचौरका ४३ वर्षीय हरिप्रसाद पौडेललाई सोही बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट पौडेलको मृत्यु भएको थियो ।

पौडेललाई आक्रमण गर्ने नरभक्षी बाघ खोज्दै जाने क्रममा आइतबार साँझ ५ बजेको समयमा मनहरी गाउँपालिका–६ राप्तीखोला र लोथरखोलाको दोभानमै एकजना पुरुषको शव बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ । कम्मरभन्दा माथिको भागमा अस्थीपञ्जर मात्रै भएकोले बाघकै आक्रमणबाट मृत्यु भएको हुन सक्ने मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभएको छ । शवको पहिचान हुन सकेको छैन ।