हेटौंडाः हेटौंडा सामुदायिक आँखा अस्पतालले ९१ जनाको निःशुल्क आँखा शल्यक्रिया गरेको छ । आइतबार अस्पतालले भीमफेदी, रौतहट र बारामा पहिचान भएका मोतिविन्दु बिरामीको शल्यक्रिया गरेको हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।
मंसिर ८ र ९ मा भएको निःशुल्क आँखा शिविरमा पहिचान भएका बिरामीको शनिबार निःशुल्क शल्यक्रिया भएको थियो । मोतिविन्दु पहिचान भएका थप ९१ जनाको अस्पतालले आइतबार शल्यक्रिया गरेको श्रेष्ठले बताउनुभयो ।
शनिवार आँखा अस्पतालले १ सय २२ जनाको शल्यक्रिया सम्पन्न गरेको थियो । हेटौंडा सामुदायिक आँखा अस्पतालले मंसिर र पुस महिनामा विभिन्न जिल्लाहरुमा निःशुल्क आँखा शिविर गर्ने भएको छ । आगामी शुक्रबार र शनिबार अस्पतालले बागमती गाउँपालिकामा शिविर गर्ने भएको छ ।
आँखा अस्पतालको तालिकाअनुसार मंसिर र पुस महिनामा बारा, पर्सा, रौतहट, सर्लाहीलगायत जिल्लाहरुमा निःशुल्क शिविर गर्नेे भएको व्यवस्थापक श्रेष्ठले बताउनुुभयो । श्रेष्ठका अनुसार मोतिविन्दुको बिरामीको चाप बढेको छ भने मोतिविन्दुको शल्यक्रिया गर्न जनचेतना जगाउन आवश्यक रहेको छ ।