हेटौँडाः पत्रकार होम कार्कीलाई अनेसास शिखर पुरस्कार–२०८० प्रदान गरिने भएको छ । कतारमा सामाजिक संस्था, गैरआवासीय नेपाली संघको स्थापना र साहित्यिक उन्नयनमा उल्लेखनीय योगदान पुर्याउनुभएका स्व. शिखर वैद्यको स्मृतिमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टरले कार्कीलाई अनेसास शिखर पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टरले गठन गरेको अनेसास शिखर पुरस्कार बोर्ड अफ ट्रस्टीको शनिबार बसेको बैठकले यस वर्षको पुरस्कार कार्कीलाई प्रदान गर्ने निर्णय गरेको आइतबार एक प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । कान्तिपुर दैनिकमा आवद्ध पत्रकार कार्कीले प्रवास र स्वदेशमै रहेर नेपाली भाषा, साहित्य, पत्रकारिता र श्रमिकको पक्षमा निरन्तर कलम चलाएको उल्लेख गर्दै पुरस्कृत गर्न लागेको जनाएको छ ।
विज्ञप्तिमा अनेसास शिखर पुरस्कार राशी भने उल्लेख गरिएको छैन । खाडी क्षेत्रका श्रमिकलाई नै केन्द्रविन्दु बनाएर कार्कीले २०७७ साल चैतमा “सनैया” पुस्तक पनि प्रकाशन गर्नुभएको छ । कार्की मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–८ का स्थायीवासी हुनुहुन्छ । हाल काठमाडौंमा रहेर श्रमसम्बन्धी समाचार लेख्दै आउनुभएको छ ।