हेटौँडाः हेटौँडा–१४ की सरिता बम्जनको हात, खुट्टा भाँचिएर हेटौँडा अस्पतालमा उपचारका लागि गत भदौ ३ गते भर्ना भइन् । रक्सी खाएर मात्तिएको पति बाबुलाल बम्जनले चिर्पटै–चिर्पटले हिर्काएपछि सरिताको दायाँ हात र दायाँ खुट्टा दुबै भाँचियो । भाँचिएको हात–खुट्टाको उपचारपछि घर फर्कनु पर्ने सरिता उपचार खर्च व्यहोर्न नसक्दा हेटौँडा अस्पतालको वार्डमै बन्धक भएर बस्न बाध्य छिन् ।
आइतबार हेटौँडा अस्पतालको सर्जरी वार्डमा भेटिएकी सरिता अन्यौलमा थिइन् । उपचार खर्च व्यहोर्न नसकेर एकातिर सरिताले अस्पताल छाड्न सकेकी छैनन् भने उपचार खर्च जुटाएर अस्पताल छाड्नु परे कहाँ जाने भन्ने अर्को अन्यौल छ । हात–खुट्टा भाँचिने गरी कुट्ने पतिको साथमा नबस्ने निर्णयमा पुगेकी सरिता केही समय माइतमै बास पाउने आशामा छिन् । हात–खुट्टा भाँचिदिने पतिलाई बाबुलाल बम्जनलाई प्रहरीले पक्रेर केही दिन हिरासतमा राखे पनि सरिताको उपचारमा सहयोग गर्नकै लागि बाबुलाललाई प्रहरीले छाडेर अस्पतालमै पठाएको थियो । मदिरा सेवन गरेर अस्पतालमै सरितासँग झगडा गर्न थालेपछि अस्पतालकी नर्सले कराएर पठाएपछि दुई सातादेखि बाबुलाल सम्पर्कमा छैनन् ।
“उपचार खर्च व्यहोर्न नसक्दा अस्पताल छोड्न पाइनँ । पैसा तिर्न नसकेकै कारण दसैं, तिहारमा पनि अस्पतालमै बस्न बाध्य भएँ”, यत्ति भनिसक्दा नसक्दै सरिताको गह भरिएर आयो । प्रेम विवाह गरेकी सरिताको ९ वर्षकी छोरी छ । आफू अस्पताल भर्ना भएपछि सरिताले छोरीलाई भने माइत पठाएकी छिन् । भीमफेदी गाउँपालिका–९, चुनियामा सरिताको माइतीले पनि खर्च व्यहोर्न सक्ने अवस्था छैन । “अस्ति माइतबाट बा–आमा आएर औषधिका लागि एक हजार रुपैयाँ छाडेर जानुभएको थियो । त्यो पनि सकियो ।”, सरिताले भक्कानिँदै भनिन् ।
सरिताको उपचारका लागि हेटौँडा अस्पतालले शल्यक्रिया शूल्क र उपलब्ध औषधी निशूल्क समेत उपलब्ध गराएको छ भने विपन्न वर्गका लागि अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) बाट पनि सक्दो सहयोग गरिएको सर्जरी वार्डकी स्टाफ नर्स सुनिता अर्यालले जानकारी दिइन् । सरिताको दायाँ हात र दायाँ खुट्टामा राखिएको स्टीलको रकम तिर्न नसकेर अस्पतालमै बस्नु परेको स्टाफ नर्स अर्याल बताउनुहुन्छ । “हामीले यहाँबाट हुन सक्ने सबै शूल्कमा सहुलियत र छुट गरेका छौं । भाँचिएको हात र खुट्टामा राख्नुपर्ने स्टील बाहिरबाट किनेर ल्याएको र उक्त रकम तिर्न नसक्दा सरिता अस्पतालमै बस्न बाध्य छिन् ।”, स्टाफ नर्स अर्यालले भनिन् । तिम्रो दुखलाई बुझेर कसैले सहयोग गर्न सक्छन् । समाचार बनाएर राखिदिन्छु है ? भनेर सोधेपछि सरिताले बोल्न पनि सकिनन् । टाउको हल्लाउँदै सहमति जनाइन् ।