हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक बुधबार बिहान बसेको छ । कार्यपालिका बैठक बिहान ९ बजे सुरु भएर ११ बजेसम्म चलेको थियो । कार्यपालिका बैठकमा के के निर्णय भयो भन्ने विषय उपमहानगरपालिकाले सार्वजनिक गरेको छैन । नगर कार्यपालिका बैठकका निर्णय सार्वजनिक गर्न आग्रह गरिए पनि उपमहानगरको ध्यान पुग्न सकेको छैन ।
बुधबारको बैठकको निर्णयको विषयमा बुझ्न खोज्दा नगरप्रमुख मीना कुमारी लामाले प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईलाई जिम्मेवारी दिनुभयो । बुधबार दिउँसो नगरप्रमुखको कार्यकक्षमै पुगेर कार्यपालिका बैठकको निर्णयको विषयमा बुझ्न खोज्दा नगरप्रमुख लामाले प्रमुख प्रशासकीय अधिकृत चौलागाईलाई जिम्मा दिएर आफू कार्यकक्षबाट बाहिरिनुभएको थियो । कार्यकारी अधिकृत चौलागाईले पनि उपमहानगरका प्रवक्तालाई सोधेर बताउने भन्दै प्रवक्ता सविन न्यौपानेको मोवाइलमा सम्पर्क गर्न खोज्दा प्रवक्ता न्यौपानेको मोवाइल उठेन ।
कार्यपालिका बैठकमा सहभागी एक वडा अध्यक्षले कार्यपालिका बैठकमा छठ पुजाका लागि ५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय भएको जानकारी दिनुभयो । कार्यपालिका बैठकमा महत्वपूर्ण निर्णय नभएको जानकारी गराउनुहुँदै ती वडाध्यक्षले भन्नुभयो, “त्यस्तो महत्वपूर्ण निर्णय केही भएको छैन । स्वास्थ्य उपचारका लागि १० हजार, २० हजार सहयोग गर्ने निर्णय भएको छ ।” मंगलबार बिहान १० बजेको समयमा कार्यपालिका सदस्यलाई बुधबार बिहान बैठक आव्हान गरिएको जानकारी गराइएको थियो ।
कार्यपालिका बैठकका निर्णयहरु तत्काल नलेखिने, कार्यपालिका बैठकमा विभिन्न शीर्षकमा अस्वभाविक किसिमका सहयोगका निर्णयहरु हुने भएकोले ती विवरण सार्वजनिक गर्दा आलोचना हुने भएपछि निरन्तर खबरदारी भइरहँदा पनि कार्यपालिका निर्णय सार्वजनिक गर्ने आँट उपमहानगरपालिकाले गरेको छैन ।











