गुगल तस्विर ।

हेटौंडाः चितवन जिल्लामा एकैदिन ३ जना मृत फेला परेका छन् । चितवनको खैरहनी र भरतपुरमा बुधबार ३ जना मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । चितवनको खैरहनी नगरपालिका–९ मा एकजना पुरुष मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा गोरखा जिल्लाको लखन गाउँपालिका–९, नमजुङ्गका ५१ वर्षीय ऋषिराम बस्नेत रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार बिहान ८ बजेको समयमा बस्नेत एक ग्यारेजको साइडको झाडीमा मृत अवस्थामा फेला परेका थिए । बस्नेतको साथबाट नगद ६४ हजार रुपैयाँ फेला परेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, चितवनको महानगरपालिका–१२ मिलनचोकमा २ जनाको शव फेला परेको छ । बुधबार मिलनचोक नजिक कल्भर्ट मुनी दुईवटा जुटको बोरा भित्र नाम थर नखुलेको अन्दाजी ४० वर्षीय महिला र पुरुष रहेको प्रहरीले जनाएको छ । दुवै जनाको शव जुटको बोरा भित्र हात खुट्टा प्लाष्टिकको डोरीले बाधेको र अन्दाजी ४ दिन अगाडि मृत्यु भई सडीगली किरा परेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।