हेटौंडा अस्पतालको तस्विर ।

हेटौंडाः हेटौंडा अस्पतालमा असोज महिनामा ३३ जना किशोरीहरु आमा बनेका छन् । हेटौैंडा अस्पतालमा असोज महिनामा १९ वर्ष मुनिका ३३ जना गर्भवती किशोरीले सुत्केरी सेवा लिएको अस्पतालका मेडिकल रेकर्डर राजीव झाले जानकारी दिनुभयो ।

हेटौंडा अस्पतालमा असोज महिनामा ३ सय ५८ जना गर्भवती सुत्केरी भएका थिए । मेडिकल रेकर्डर झाका अनुसार ३ सय ४५ जना मध्ये १२ जनाको गम्भीर अवस्थामा बच्चा निकाल्नु परेको थियो । यस्तै, २ सय ४२ जनाको सामान्य अवस्था रहँदा १ सय ४ जनाले शल्यक्रिया गरी बच्चा जन्माएका थिए । हेटौंडा अस्पतालमा एक महिनामा १ सय ७२ बालिका र १ सय ९० बालक गरी ३ सय ६२ जनामा जन्म लिएका छन् ।

हेटौंडा अस्पतालका स्त्री तथा प्रसुती स्वास्थ्य विशेषज्ञ डा. राम काजी महर्जनका अनुसार किशोरावस्थामा गर्भवती हुनुका धेरै कारणमध्ये मुख्य कारण सामाजिक सञ्जालको दुरुप्रयोग रहेको छ । सामाजिक सञ्जालको प्रयोग गर्दै जाँदा किशोरावस्थामा प्रेम सम्बन्धी स्थापित हुने गरेको छ । प्रेम सम्बन्धपछि भागी विवाह गर्ने क्रम बढेसँगै किशोरावस्थामै गर्भवती हुने र सन्तान जन्माउने अवस्था रहन्छ ।

किशोरावस्थामा गर्भवती भई बच्चा जन्माउँदा पछि पाठेघरमा समस्या तथा अनेक रोगको संक्रमणको जोखिम हुने डा. महर्जनले बताउनु भयो । सानो उमेरमा किशोरीहरुलाई व्यक्तिगत स्वच्छतामा ध्यान नपुग्ने, व्यक्तिगत स्वच्छतासम्बन्धी ज्ञान नहुने, जन्मेको शिशुको हेर विचार गर्न नसक्ने, आमा र शिशु दुबैमा समस्या देखिने गरेको छ । कतिपयले किशोरावस्थामै दोस्रो सन्तान समेत जन्माइसकेका हुन्छन् ।

हेटौँडा अस्पतालसँगै मकवानपुर जिल्लाका अन्य स्वास्थ्य संस्था तथा प्रसुती सेवा उपलब्ध हुने स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा पनि गर्भवती किशोरीले प्रसुती सेवा लिने गरेका छन् । हरेक महिना किशोरीहरु जोखिमपूर्ण अवस्थामा गर्भवती हुने र सन्तान जन्माउने विषयमा समाचार प्रकाशन हुँदा स्थानीय, प्रदेश सरकार र नागरिक समाजको समेत ध्यान पुग्न सकेको छैन । २० वर्षभन्दा कम उमेरमा केटा र केटी दुबैको विवाह गैरकानुनी हुने भनिए पनि व्यवहारमा भने कानुन कार्यान्वयन हुन सकेको छैन ।