हेटौँडाः हेटौँडा–१३ स्थित सगरमाथा युवा क्लबको आयोजनामा हेटौँडा बुधबारबाट टोलस्तरीय वडा अध्यक्ष नकआउट फुटबल प्रतियोगिता सुरु भएको । ठुलोथली मैदानमा भएको उद्घाटन खेलमा सक्रिय युवा क्लबले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन नगर प्रमुख मीना कुमारी लामाले गर्नुभएको थियो ।
सक्रिय युवा क्लबले मेन्डोलिन गैरी युवा क्लबलाई २–० गोलअन्तरले हराउँदै विजयी सुरुवात गरेको हो । सक्रिय क्लबको तर्फबाट पहिलो हाफको २५ मिनेटमा सनम वाईबाले र माइसन वाईबाले समान १–१ गोल गरे । म्यान अफ द म्याच माइसन घोषित भए । आज बिहिबार पहिलो खेल नमोबुद्ध एफसी टोल विकास र समृद्धि टोल विकासबीच हुनेछ भने दोस्रो खेल गोर्खा टोल विकास र समाज सेवी टोल विकास बिच हुनेछ ।
प्रतियोगितामा २२ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधी विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको व्यावस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल कार्तिक २६ गते हुनेछ । प्रतियोगितामा करिब ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष पेम्बा लामा, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिनालगायतको आतिथ्य रहेको थियो ।