हेटौंडाः हेटौंडा–९ स्थित मानवसेवा आश्रमले राष्ट्रिय मेची महाकाली अभियान सुरु गरेको छ । मानवसेवा आश्रम र आनिछोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा शनिबारबाट सुरु भएको अभियान ४० दिनसम्म चल्ने मानव सेवा आश्रमको प्रदेश संयोजक होमनाथ पौडेलले जानकारी दिनुभएको छ ।

वि.सं २०७७ सालदेखि नै यो अभियान सुरु गरेको र अहिलेसम्म निरन्तरता दिँदै आइरहेको प्रदेश संयोजक पौडेलले जानकारी दिनुभएको छ । शनिबारदेखि सुरु अभियान देशका ७७ वटै जिल्लामा चलाउने लक्ष्य लिएको र अहिलेसम्म ९ वटा जिल्लामा यो अभियान गर्न सफल भइसकेको उहाँले बताउनुभयो ।

दशैँ तिहारलगायतको पर्वहरुमा कुनै पनि मानिसले सडकमा जीवनयापन गर्न नपरोस् भन्ने उद्देश्यका साथ देशव्यापीरुपमा अभियान चलाइएको उहाँको भनाइ छ । अभियानका क्रममा भेटिएका सडकमा जीवनयापन गरिरहेका सहयोगापेक्षी मानवहरुको उद्दार गरिने उहाँले जानकारी दिनुभयो ।

मेची महाकाली अभियानले सडकमा बस्ने मानिसहरुको जीवन रक्षामा सहयोग पुग्ने उहाँले बताउनुभयो । मानवसेवा आश्रमको केन्द्रीय अध्यक्ष रामजी अधिकारी, आनिछोइङ डोल्मा, आनिछोइङ डोल्मा फाउण्डेसनका अध्यक्ष छिरिङ डोल्मालगायत ४० जनाको सहभागितामा अभियान सञ्चालन गरिएको छ ।