फाइल तस्वीर ।

हेटौँडाः हेटौँडामा जारी २१ औँ स्व. लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय खुल्ला रनिङ शिल्ड भलिबल प्रतियोगिता अन्तर्गत क्वार्टरफाइनल समीकरण पूरा भएको छ । आज शुक्रबार बिहान २ समुहको खेलहरु सम्पन्न भएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।

हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टका भएको पहिलो खेलमा थाहा नगरपालिकाले हुप्रचौरलाई २–० को सोझो सेटले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । थाहा नगरपालिकाले हुप्रचौरलाई २५–१६ र २५–१९ ले पराजित गरेको छ । त्यस्तै आज बिहानै भएको दोस्रो खेलमा थाहा नगरपालिका–६ बज्रवाराहरी खेलकुद विकास समितिले हेटौँडा–११ दुम्सिडाँडा खेलकुद विकास समितिलाई २–० को सोझो सेटले पराजित गरेको छ । बज्रवाराहीले दुम्सिडाँडालाई २५–१५ र २५–१८ ले पराजित गरेको हो ।

क्वार्टरफाइनल समीकरण पूरा भएसँगै नकआउट चरणको खेलहरु सुरु हुनेछ । आज दिउँसो १ बजेदेखि क्वार्टरफाइनल चरणका खेलहरु सुरु हुने आयोजक जेसीआई बसामाडीले जनाएको छ । प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ६० हजार रुपैयाँ र उपविजेता टिमले ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।