हेटौँडाः उद्योग संघ मकवानपुरले स्थापना गरेको एम स्टार्ट–अप बिजनेश इन्कुबेशन सेन्टरद्वारा आयोजित पाँच दिने नवउद्यम कार्यशाला बुटक्याम्प बिहिबार सम्पन्न भएको छ । ४ दिन कार्यशालामा उद्यम, व्यवसायका विविध पक्षमा विचार, विमर्श र अभ्यासपछि बिहिबार हाट बजारको आयोजना गरेर कार्यशालाको समापन गरिएको हो ।
बुटक्याम्पमा सहभागी हुन आवेदन दिएका मध्येबाट उपयुक्त व्यावसायिक योजना प्रस्ताव गर्ने, व्यवसाय गरिरहेका समूहलाई सहभागी गराइएको थियो । उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष लेखराज पोखरेलको संयोजकत्वमा आयोजित बुटक्याम्पलाई सहयोगी संस्था अन्तरप्रेरणा नेपाल प्रालिका अशिम श्रेष्ठ र अमीर महर्जनले सहजीकरण गर्नु भएको थियो । बुटक्याम्पमा ब्याण्ड लजिकका सिईओ रोशन निरौलाले डिजिटल मार्केटिङ, आन्तरिक राजश्व कार्यालयका अधिकृत मनिष कुमार महतोले कर व्यवस्था र एशियन पेन्ट्स नेपाल प्रालिका रमन खनालले प्रतिस्पर्धी विश्लेषण सम्बन्धी प्रस्तुती दिनु भएको थियो भने मकवानपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. यम बहादुर सिलवाल र सिद्धार्थ बैंकका हेटौंडा शाखाका प्रबन्धक अर्पण सञ्जेल, विभिन्न उद्योगीहरुले श्रोतव्यक्तिका रुपमा सहयोग गर्नु भएको थियो ।
पाँचौ तथा अन्तिम दिनमा बिहिबार आयोजना गरिएको हाट बजारमा बुटक्याम्पमा सहभागी उद्यमी, व्यवसायीले आफ्ना उत्पादन र सेवाको प्रदर्शनी गरेका थिए । हाट बजारमा सहभागीहरुले व्यवसायको परीक्षण गर्नुका साथै सम्भावित ग्राहक, लगानीकर्ता तथा मेन्टरसँग जोडिने मौका पनि पाएका थिए । बिहिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म आयोजित हाट बजारलाई दुइ सय जना भन्दा बढीले अवलोकन गरेका थिए । हाटबजारमा १५ जनाले आआफ्ना उद्यम तथा व्यवसायका बारेमा अवलोकनकर्तालाई जानकारी गरएका थिए । कार्यक्रमको अन्त्यमा उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागत राज प्याकुरेल तथा हेटौँडा स्कुल अफ म्यानेजमेन्ट र नवोदय स्कुलका संचालक दिपेश जोशीले सहभागिलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।