मुलुकमै भनेजस्तो रोजगारी नपाएपछि धेरै युवाहरु विदेशिएका छन् । रोजगारीका लागि विदेश जाने युवाको संख्या दिनानुदिन बढ्दो छ । विदेश जानेको संख्या जसरी बढिरहेको छ, उनीहरु र आश्रित परिवारको पीडा पनि उत्तिकै देखिन्छ । वैदेशिक रोजगारीमा जानेहरुमध्ये कयौंले अकालमा मृत्युवरण गरिरहेका छन् । कयौंले कठोर सजाय पाएका छन् भने कयौं मानिस अलपत्र परेका छन् । विदेश जानेहरुले काम गर्ने क्रममा पाउने गरेको दुःख कष्ट पनि उत्तिकै छ । देशमा रहेका अदक्ष, अर्धदक्ष जनशक्तिमात्र होइन, दक्ष जनशक्ति तथा प्राज्ञिक व्यक्तिसमेत देशमा भविष्य नदेखेर परदेशतर्फ लम्किरहेकै छन् । वैदेशिक रोजगारीको बाध्यता तथा मोहकै कारण मुलुकको पहाड, तराई, मधेशका गाउँबस्ती युवाविहीन बनेका छन् । विदेश भनेपछि भुतुक्कै हुने युवा वर्ग तथा तिनलाई विदेश पठाउन तारतम्य मिलाउने सरकार र अन्य सबै पक्षको अग्रसरता उदेकलाग्दो छ । वैदेशिक रोजगारीमा गएकाहरुले भोग्नु परिरहेको दुःख, पीडाको वास्तविकता सबैलाई थाहा भए पनि यसको दीर्घकालीन समाधानमा चासो र चिन्ता भने देखिँदैन ।

वैदेशिक रोजगारीमा गएका मकवानपुरका ३ जनाको पछिल्लो दुई महिनाको बीचमा मृत्यु भएको छ । बकैया गाउँपालिका–११, घट्टेखोलाका ३२ वर्षीय मीनबहादुर न्यासुरको मलेसियामा मृत्यु भएको छ । आइतबार राति सुतेकै ठाउँमा न्यासुरको मृत्यु भएको हो । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएका मकवानपुरका १३ जनाको मृत्यु भएको सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी परियोजना (सामी) को तथ्यांकमा उल्लेख छ । श्रम स्वीकृतिको अवधिभित्र मृत्यु हुनेलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले ७ लाख र बीमावापत १४ लाख रुपैयाँ प्राप्त हुने भए पनि कतिपय श्रम स्वीकृति अवधि पूरा भइसकेपछि पनि वैदेशिक रोजगारमै हुने गरेका कारण त्यस्तो राहत रकमसमेत नपाउने अवस्था हुने गरेको छ । सामी परियोजनाले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाहरुको शव नेपाल ल्याउन सहजीकरण गर्ने गरेको छ । गत आर्थिक वर्षमा मृत्यु भएका १३ जनामध्ये सम्बन्धित देशबाट १२ जनाको शव नेपाल ल्याइएको थियो ।

धेरै नेपाली वैदेशिक रोजगारीमा गएका र जाने क्रम बढ्दै जाँदा विभिन्न बेथिति र विसंगति पनि उत्तिकै बढिरहेको छ । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सरकारी तथा गैरसरकारी निकायले सचेतनासँगै अन्य कार्यहरुसमेत गर्दै आएको अवस्थामा पनि वैदेशिक रोजगारीसम्बन्धी बेथिति बढ्दै जानु थप चुनौती बनिरहेको छ । निःशुल्करुपमै जान सकिने देशमा जान चाहने व्यक्तिलाई म्यानपावर कम्पनी तथा तिनका एजेन्टले ठूलो रकम असुल्ने गरेको भए पनि सरकारले केही गर्न सकिरहेको पाइँदैन । वैदेशिक रोजगारीमा जाने प्रक्रियामा वा रोजगारीको गन्तव्य मुलुक पुगिसकेपछि ठगिएको भन्दै गत आर्थिक वर्षमा ६० वटा निवेदन सामी परियोजनामा दर्ता भएको थियो । ती मध्ये २६ वटा निवेदनमाथि आवश्यक सहजीकरण गरी पीडितलाई ठगिएको रकम असुल गराउन सफल भएको बताइएको छ । चालु आर्थिक वर्षको २ महिनाको अवधिमा ठगीका २५ वटा गुनासा दर्ता भएको छ ।

मुलुकभित्रै भएका प्राकृतिक सम्पदाको सदुपयोग गर्न सकेमा युवा वर्गले रोजगारी पाउनेमात्र नभई देशलाई समृद्धितर्फ लैजान सकिन्छ । तर, देशको राजनैतिक अस्थिरता र सरकारको निकम्मापनले युवाहरुलाई विदेशिन प्रोत्साहन गरिरहेको छ । स्वदेशमै विकास, निर्माणका कामलाई तिब्रता दिने, उद्योगधन्दाको विकास र विस्तार गर्ने, व्यापार व्यवसायलाई सहज बनाउने र प्राकृतिक स्रोत साधनको सदुपयोग गर्ने हो भने वैदेशिक रोजगारीमा जान चाहने युवाको लर्कोलाई कम गर्न सकिन्छ । यसले वैदेशिक रोजगारीका कारण व्यक्ति तथा परिवारले भोगिरहेको दुःख, कष्ट र पीडालाई कम गर्न सकिन्छ । वैदेशिक रोजगारीमा जान लिएको ऋण तिर्न नसकेर घरखेत गुमाउनुपर्ने , विदेशमा कमाएर पठाएको रकम स्वदेशमा अपचलन हुने, परिवारमा विचलन आउनेजस्ता समस्या पनि स्वतः कम हुन्छ । वैदेशिक रोजगारीकै कारण देश विकासका लागि आवश्यक जनशक्तिको अभाव भइरहेको छ । यसले देशभित्र आर्थिक क्रियाकलाप बढ्न सकेको छैन । यी सबै समस्या समाधान गरी विदेशिने क्रम र विदेशिनेको पीडा कम गर्न सम्बद्ध निकाय गम्भीर बन्नु आवश्यक छ ।