हेटौँडाः बागमती प्रदेश युवा परिषद्को आयोजना तथा साहित्य संगम मकवानपुरको सहकार्यमा खुला कविता प्रतियोेगिता हुने भएको छ । प्रतियोगितामा प्रथम हुने कविताका लागि ४० हजार रुपैयाँ पुरस्कार राशीको घोषणा गरिएको छ ।

प्रदेश युवा परिषद्ले सोमबार एक सूचना जारी गर्दै प्रतियोगितामा सहभागी हुन आव्हान गरेको छ । प्रतियोगितामा दोस्रो हुने कविताका लागि ३० हजार रुपैयाँ, तेस्रो हुने कविताका लागि २० हजार रुपैयाँ र सान्त्वना कवितालाई १० हजार रुपैयाँ प्रदान गरिने छ । कविता कुनै निश्चित विषयमा आधारित हुनुपर्ने छैन । ४० वर्षसम्मका युवाको मात्रै सहभागिता रहने प्रतियोगितामा सहभागी हुन असोज २२ गतेसम्ममा कविता पठाइसक्नुपर्ने बताइएको छ ।

उत्कृष्ट २० कविता छनोट गरेर अन्तिम प्रतियोगितामा सहभागी गराइने उल्लेख गर्दै परिषद्ले अन्तिम प्रतिस्पर्धामा कवि उपस्थित भएर कविता वाचन गर्नुपर्ने स्पष्ट जनाएको छ । कविता इमेलमार्फत पनि पठाउन सकिनेछ । कविता बढीमा १ सय ५० शब्दको हुनुपर्नेछ भने कुनै पत्रपत्रिका वा सामाजिक सञ्जालमा समेत सार्वजनिक हुन नहुने परिषद्ले स्पष्ट पारेको छ ।