नेपालमा अहिलो संसारमै उत्कृष्ट भन्ने गरिएको संघीय गणतान्त्रिक शासन व्यवस्था छ । लामो समयसम्म राजतन्त्रात्मक एकात्मक शासन व्यवस्थाले मुलुकको आर्थिक, सामाजिक विकास गर्न नसकेको भन्दै संघीयतासहितको गणतान्त्रिक शासन व्यवस्था ल्याइएको हो । सोही शासन व्यवस्थाअनुकूलको संविधान पनि निर्माण गरिएको छ । जनताको प्रतिनिधिमूलक संविधानसभाबाट संविधान निर्माण गर्ने करिब ७ दशक अघिको चाहनाबमोजिम नेपालमा २०६४ सालमा संविधानसभाको निर्वाचन भएको थियो । पहिलो संविधानसभाले करिब ६ वर्षसम्म पनि संविधान बनाउन नसकेपछि पुनः संविधानसभा निर्वाचन गरेर २०७२ सालको असोज ३ गते (आजकै दिन) नेपालको संविधान २०७२ संविधानसभाबाट घोषणा भई पारित भएको थियो । संविधानसभाबाट संघीय गणतन्त्र नेपालको संविधान जारी भएको आज ८ वर्ष पूरा भएको छ । संविधानसभाबाट संविधान जारी भएको आजको दिनलाई संविधान दिवसको रुपमा मनाउने गरिएको छ । देशभर सार्वजनिक बिदा दिएर यो दिवस मनाउने गरिएको हो ।

नागरिकको लामो संघर्ष, बलिदान, उत्कट प्रतीक्षा र धैर्यतापछि संविधानसभाले संघीय गणतन्त्र नेपालको संविधान जारी गरेको दिन आम नेपालीको लागि विशेष दिन हो । संविधानसभाबाट संविधान जारी भएको विशेष दिनलाई ५ वर्षअघि तत्कालीन सरकारले संविधान दिवसका साथै राष्ट्रिय दिवसको रुपमा समेत मनाउने घोषणा गरेको थियो । नेपालमा कुनै राष्ट्रिय वा स्वतन्त्रता दिवस नभएको भन्दै संविधानदिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय तत्कालीन सरकारले गरेको थियो । संविधान दिवसलाई भव्यरुपमा मनाउन हरेक वर्ष विभिन्न कार्यक्रमहरु हुने गरेका छन् । संघ, प्रदेश र स्थानीय सरकार तथा विभिन्न संघसंस्था र राजनीतिक दलहरुले संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने गरेका छन् । हजारौं शहीदको बलिदान र विभिन्न राजनीतिक परिवर्तनपछि जनताको प्रतिनिधिले बनाएको संविधान अझै प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन । संविधानमा भएका कतिपय व्यवस्थाहरु लागू हुन सकेको छैन भने कतिपय व्यवस्थाको गलत व्याख्या र प्रयोग भइरहेको हुँदा संविधानले आशातित सन्तुष्टि दिन सकिरहेको छैन ।

संविधान देशको मुल कानुन हो । संविधानकै आधारमा देशका लागि आवश्यक विभिन्न ऐन, कानुन बनाइन्छ । नेपालमा वि.सं २००४ सालबाट संविधानको अभ्यास सुरु भएको हो । २००४ देखि २०७२ सम्म आइपुग्दा नेपालमा ७ वटा संविधान बनेका छन् । २००४ सालमा राणा प्रधानमन्त्री पद्मशमशेरले ‘नेपाल सरकार वैधानिक कानुन, २००४’ जारी गरेका थिए । राणा शासनको अन्त्यपछि ‘नेपाल अन्तरिम शासन विधान, २००७’ लाई राजा त्रिभुवनले जारी गरे । २०१५ साल फागुन १ गतेदेखि ‘नेपाल अधिराज्यको संविधान, २०१५’ लागू भयो । २०१७ सालबाट पञ्चायती व्यवस्था सुरु भएपछि २०१९ पुस १ मा राजा महेन्द्रले नै ‘नेपालको संविधान, २०१९’ जारी गरे । २०४६ सालको जनआन्दोलनबाट पञ्चायती व्यवस्थाको अन्त्यसँगै २०४७ कात्तिक २३ गते ‘नेपाल अधिराज्यको संविधान २०४७’ जारी भयो । २०६२/०६३ को राजनीतिक परिवर्तनपश्चात् २०६३ माघ १ गते तत्कालीन पुनस्थापित प्रतिनिधिसभाबाट ‘नेपालको अन्तरिम संविधान, २०६३’ जारी भयो । २०७२ असोज ३ गते पहिलो र दोस्रो संविधानसभाले बनाएको ‘नेपालको संविधान २०७२’ जारी भयो ।

अहिलको संविधान संविधान विज्ञ, जनप्रतिनिधि र समावेशी प्रतिनिधित्वसमेतको छ सय एक सदस्यीय संविधानसभाबाट बनेको संविधान हो । यो संविधान लेख्न धेरैले आफ्ना बुद्धि, विवेक र परिश्रम खर्च गरेका छन् । त्यसैले यो संविधानप्रति धेरैको अपनत्व भए सर्वस्वीकार्य र प्रभावकारी कार्यान्वयन हुन नसक्दा आम नेपालीले आशा गरेको र संविधानले परिकल्पना गरेको अवस्था देशको छैन । संविधान दिवस
मनाइरहँदा संविधानका सकारात्मक पक्षहरुको चर्चा गर्दै संविधानको अक्षरस पालना गर्ने प्रतिबद्धता जाहेर गर्नु आवश्यक छ । संविधानको प्रभावकारी कार्यान्वयनबाटै यसको सफलता निर्धारण हुनेछ । देशको वर्तमान आवश्यकताअनुकूलको ऐन, कानुन र शासन व्यवस्था सञ्चालन गर्दै आर्थिक, सामाजिक रुपान्तरणमा संविधानको कार्यान्वयन हुन सकेमा संविधान दिवस मनाउनुको सार्थकता हुनेछ ।